अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

कोलोराडोमा सङ्कटकाल, कोरोना प्रभावित सङ्ख्या १७

मङ्गलवारसम्म कोरोना भाइरस प्रभावितको सङ्ख्या कोलोराडोमा १७ पुगेको

बिआरटीनेपाल २०७६ फागुन २७ गते २२:५७ मा प्रकाशित

मङ्गलवारसम्म कोरोना भाइरस प्रभावितको सङ्ख्या कोलोराडोमा १७ पुगेको
कोलोराडो । गभर्नर जेरेड पोलिसले मङ्गलवार कोलोराडो राज्यमा सङ्कटकालीन घोषणा गरेका छन् । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सहयोग पुग्ने भन्दै उनले यस्तो घोषणा गरेका हुन् ।

तर, उनले यो सङ्कटकाल घोषणाले ब्यबसायिक वातावरणलाई असर नगर्ने प्रस्ट पारेका छन् । यो कदम अमेरिकामा कोरोना भाइरसको बढ्दो सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गर्दै चालिएको उनको स्पष्टोक्ति छ ।

‘कोरोना भाइरस नियन्त्रणमा लिन, यसको जोखिमबाट सर्वसाधारणलाई जोगाउनका लागि स्रोत साधन परिचालन गर्न तथा कानुनी व्यवस्था खुकुलो बनाउन यो कदम चालिएको हो,’ गभर्नर पोलिसले भनेका छन् ।

मङ्गलवारसम्म कोरोना भाइरस प्रभावितको सङ्ख्या कोलोराडोमा १७ पुगेको छ । सरकारी अधिकारीहरूले यो सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरेका छन् । खासगरि सङ्कटकाल घोषणाले व्यक्तिगत रूपमा कोरोना भाइरस परीक्षण गर्न र निजी प्रयोगशालाहरूलाई परीक्षणको अधिकार कानुनी रूपमा बाटो खोलिदिएकाले सरकारी अधिकारीहरूले यस्तो अपेक्षा गरेका हुन् ।

सरकारी अधिकारीहरूले कोरोना भाइरस समुदायमा फैलिएको घोषणा गरिसकेका छैनन् । उनीहरूले त्यसका लागि केही दिन कुर्नै पर्ने बताएका छन् । यो भाइरसबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३१ पुगेको छ । यो भाइरस तीव्र रूपमा फैलिन थालेपछि अमेरिकाको अधिकांश राज्यमा सङ्कटकाल घोषणा गरिएको छ ।

त्यसै गरी डेनभरमा हुने सेन्ट प्याट्रिक डे परेड पनि क्यान्सिल गरिएको जानकारी डेनभर मेयर माइकल ह्यानककले दिएका छन् ।

प्रतिक्रिया