अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

शिक्षकलाई कोरोना प्रशिक्षण

सरस पाण्डे २०७६ फागुन २६ गते १३:०५ मा प्रकाशित

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, धादिङद्वारा फागुन २३ र २४ गते आयोजना गरिएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तथा शैक्षिक अन्तरक्रिया कार्यक्रममा कोरोना भाइरस र त्यसको आतङ्कको बारेमा बृहत् छलफल गरियो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्मा, सोही सङ्गठनका राष्ट्रिय समितिका सचिवालय सदस्य कमला थापा र महासचिव हंसबहादुर शाहीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नेतृत्व सीप विकास तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्षमता विकास लगायतका विषयमा प्रशिक्षण दिनुभयो । धादिङ जिल्लाका १३ओटै पालिकाका शिक्षकहरूको बृहत् उपस्थितिमा गरिएको सोही कार्यक्रममा धादिङ बेसीमा रहेको जिल्ला अस्पतालमा लामो समयदेखि सेवारत रहनुभएका कृष्णलाल उप्रेतीले कोरोना भाइरस सम्बन्धी सजग रहन अनुरोध गर्दै शिक्षकहरूलाई पनि अहिले विश्वभर फैलिएको भाइरस सम्बन्धी जानकारी रहन जरुरी रहेको कुरा बताउनुभयो । साबुन पानीले हात धुने, माछमासु, तरकारी राम्रोसॅंग पकाएर खाने,दूध राम्रोसॅंग उमालेर मात्र पिउने, घाममा बस्ने,बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने,बच्चालाई न्यानो बनाएर राख्ने,रुघाखोकी लागेमा घरायसी औषधी गर्ने, बढी ज्वरो आएमा फ्लु जस्तो सङ्केत देखापरेमा तुरुन्त अस्पताल जानुपर्ने, धेरै भिडभाडमा चाहिॅं नजाने,आफन्त, साथीभाइकोमा जाॅंदा अरूले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने कुरा बताउॅंदै धेरै नआत्तिन समेत सल्लाह दिनुभयो। साथै, राष्ट्रिय अध्यक्ष शर्माले पनि हामी शिक्षकले किताबी ज्ञान मात्र दिने नभई सीपमूलक, व्यवहारिक, नैतिक शिक्षा दिॅंदै समसामयिक कुराहरूमा पनि विद्यार्थीलाई जानकार गराउनु पर्ने कुरा कार्यक्रममा सबै शिक्षकहरूलाई बताउनुभयो। शिक्षकले लामो समयसम्म विद्यालय बन्द गर्न नहुने भन्दै यो अन्तिम परीक्षा पश्चात् विद्यार्थीहरू विद्यालय बिदा भएपछि घुम्न जाने, आफन्तकोमा जाने चलनले गर्दा झनै भाइरसबाट बच्न गाह्रो हुने त्यस कारण विद्यालय समयमा खोल्नु पर्ने र शिक्षकहरूले विद्यार्थीहरूलाई डरबाट मुक्त गराएर मोटिभेसनमुलक शिक्षा प्रदान गर्नुपर्ने कुरा बताउनुभयो।

कोरोना भाइरसले विश्वमा फैलाएको त्रासले मानिसहरू डरले घरबाट बाहिर निस्कन पनि सकिरहेका छैनन्। जो बाहिर निस्किएका छन् उनीहरू पनि त्राहि त्राहि भएका छन् । प्रत्येक मानिसको मुखमा कोरोना शब्द झुन्डिएको छ । जिस्किदा होस् या बोल्दा कोरोनाको नाम लिएर बोल्ने पाइएको छ । एक जना सर भन्दै हुनुहुन्थ्यो,” म बाटोमा हिॅंड्दै थिएँ । दुई साथीबिच झगडा परिरहेको रहेछ म उनीहरूलाई देखेर अडिएँ। जित्न नसकेपछि लगभग ९ वर्षजस्तो लाग्ने बच्चोले साथीलाई

कोरोनालो लगिहालोस् भनेर गाली गर्‍यो म अचम्ममा परेँ।” यस्तो आतङ्क छ । हामीले सचेत भएर ठुलो रोगको रूपमा नलिने तर सबैलाई सतर्क रहन अनुरोध गर्दै दैनिक रूपमा गर्दै आइरहेको कामकाज गर्नुपर्ने जनचेतना जगाउन जरुरी रहेको छ । हाम्रो देशमा दिउॅंसोको कमाइले मात्र बेलुका आगो बाल्न पाउने नत्र भोकै बस्नुपर्ने अवस्थाका मानिसहरू धेरै छन् । त्यस कारण सबैलाई सचेत रहन सल्लाह दिने तर पुरै कामकाज ठप्प गरेर घरबाहिर निस्कन नहुने कुरालाई विभिन्न सञ्चारका माध्यमहरूलाई नफैलाउन अनुरोध छ । सजग बनौँ, दैनिक कार्य गरौँ,कोरोनाको डरबाट हटौँ ।