अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

नारीको जीवन

लाल प्रसाद चौलागाईं २०७६ फागुन २५ गते १०:०० मा प्रकाशित

जब म छोरी भएर जन्मिए
बा आमाले भन्नुभयो ,
घरमा लक्ष्मीको बाँस भयो ,
बुढेसकाल सम्म बाच्ने आस भयो ,
घरमा देवीको रूपमा पुजियो मलाई
सुभकार्यमा कन्या केटी भनेर पुजियो मलाई

बिस्तारै पढ्दै गए , उमेर बढ्दै गयो ,
बा आमाले भन्नुभयो ,
छोरी मान्छे धेरै बोल्नु हुँदैन ,
छोरी मान्छे धेरै खेल्नु हुँदैन,
छोरी मान्छे उन्मतो हाँस्नु हुँदैन ,
र मैले त्यसै नै गरे ,
धेरै बेर हाँसिन ,
धेरै बेर खेलिन ,
र उन्मतो हाँसिन् पनि ,
तर मन खुम्चँदै गयो ,
मेरो संसार साँघुरो लाग्दै गयो !

जब एक दिन कुनै घरको बुहारी बने
आफ्नो घर परिवर्तन गरे ,
आफ्नो थर परिवर्तन गरे ,
बिस्तारै मन पनि परिवर्तन गरे ,
एक दिन सासू ससुराले भन्नुभयो ,
बुहारी मान्छे कलेज पढ्नु हुँदैन ,
बुहारी मान्छे ठाडो सिर पार्नु हुँदैन ,
बुहारी मान्छे उन्मतो हाँस्नु हुँदैन ,
पोथी बास्नु हुँदैन ,
र मैले त्यसै नै गरे ,
पढ्न कलेज गइन
कहिल्यै ठाडो सिर गरिन
कहिल्यै हाँसिन , अनि बासिन पनि !
तर मन अझ खुम्चँदै गयो ,
मेरो संसार अझै साँघुरो लाग्दै गयो !

सोही दिन म कसैको स्वास्नी मान्छे बने
आफ्नो रहर मनमै सीमित राखे ,
पति परमेश्वरलाई ईश्वर माने ,
र हरेक रात उसैको ओछ्यान बने ,
पतिले भन्नुभयो ,
स्वास्निमान्छे धेरै हिँड्न हुँदैन ,
स्वास्निमान्छे धेरै समाजमा चिन्नु हुँदैन ,
स्वास्निमान्छे रहर पूरा गर्ने गरी किन्नु हुँदैन ,
र मैले त्यसै नै गरे ,
धेरै बेर हिँड्न,
समाजमा धेरै चिनिन्
र रहरका कुरा किनिन् पनि !

र एक दिन म आमा पनि बने
छोराछोरीले भने ,
आमाले छोराछोरीको लागि बाच्नुपर्छ ,
आमाले छोराछोरीको लागि सबै सम्पत्ति साँच्नुपर्छ ,
आमाले छोराछोरीको इसारमा नाच्नुपर्छ ,
र मैले त्यसै नै गरे ,
छोराछोरीको लागी बाचे ,
छोराछोरीको लागि सबै कुरा साँचे ,
छोराछोरीकै इसारामा नाछे पनि ,
मनको खुम्च्याइ बढ्दै गयो
मेरो फराकिलो संसार घट्दै गयो !

समयको मागले होला ,
आज म एउटा विधुवा बनेको छु ,
मबाट मेरो जिन्दगीको रङ खोसिएको छ ,
समाज भन्छ ,
मैले रातो रङ लगाउनु हुँदैन ,
सुभकार्य गर्नु गराउनु हुँदैन ,
र स्वतन्त्र जीवन बाच्नु हुँदैन ,
र म र मैले त्यसै नै गर्दैछु ,
रातो लगाएकी छैन ,
सुभकाम गराएकी छैन ,
स्वतन्त्र बाचेकी छैन पनि !
र अब पूर्ण रुममा खुम्चिए ,
अनि मेरो संसार पुरै साँघुरियो पनि !

म छोरी बने ,
कुमारी बने,
लक्ष्मी बने,
बुहारी बने,
स्वास्नी मान्छे बने,
आमा बने ,
विधवा बने,
अपवित्र पनि बने ,
एक प्रश्न मेरो समाजलाई ?
अनि नारी दिवस मनाउनेहरू ?
के यही हो नारीको जीवन ?
अनि यति सस्तो छ , नारीको जीवन ?
धन्यवाद !

हाल -कोलोराडो,अमेरिका

प्रतिक्रिया