अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

साग बिजेताको पुरस्कार रकम सिधै खेलाडीको खातामा

बिआरटीनेपाल २०७६ फागुन २४ गते ६:५४ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरस्कार रकम सरकारले सिधै खेलाडीको बैंक खातामा पठाउने भएको छ । फागुन १२ गते मन्त्रीपरिषदबाट संशोधित कार्यविधि अनुसार खेलाडीको पुरस्कार रकम सिधै बैंक खातामा जाने भएको हो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपले एक बिशेष कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट पुरस्कार रकम हस्तान्तरणको योजना बनाए पनि विश्वमा फैलदो कोरोना भाइरस र प्रधामन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सरकारले खेलाडीको रकम तत्काल बैंक खातामा पठाउने राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले जानकारी दिनुभयो ।

चाँडै पुरस्कार रकम दिने योजना भएपनि प्रक्रियाले गर्दा केही ढिलाई भएको उहाँको भनाइ छ । खेलकुद मन्त्रालय र राखेपले फागुन महिना भित्र खेलाडीको पुरस्कार रकम दिने बताएका थिए । कोरोनाका कारण अन्य कार्यक्रम स्थगित भएपनि पुरस्कार रकम भने खेलाडीको खातामा तत्काल राखिदिने राखेपको तयारी छ । गत मंसिरमा सम्पन्न सागको पुरस्कार रकम हस्तान्तरणमा सरकारले ढिलाई गर्दै आएको छ । साग सकिएको भोलीपल्टै मंसिर २५ गते बालुवाटारमा कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री ओलीले पुरस्कार रकम घोषणा गर्नुभएको थियो ।

उहाँले व्यक्तिगत स्पर्धाका स्वर्ण पदक विजेतालाई नौ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियो । एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने सरकारको घोषणा गरेको थियो । तर संशोधित कार्यविधि अनुसार टिम ईभेन्ट्का स्वर्णधारी खेलाडीले ६ लाख पाउने भएका छन् ।

प्रतिक्रिया