अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

आश्चर्य

रश्मि भट्ट २०७६ फागुन १८ गते ९:४३ मा प्रकाशित

कविता

विषय वस्तुको ज्ञान र बुद्धि
अति नै थोरै भए पनि
विनीत हुनु पनि एउटा कला रहेछ
सबै, सबैसँग परी आउँदा
झुक्न र झुकाउन जान्नु झन्
अमूल्य जुक्ति रहेछ
स्वाभिमानका खातिर
कयौँ विद्वानहरू भोकै मरे
अलङ्कृत, पुरस्कृत भएनन् कहिल्यै
भए पनि विवादमै छाइरहे
सत्य र ईमान्दारीता मात्र
देखाउनेहरूले कहिल्यै पद र
प्रतिष्ठा पाउन सकेनन्
सदैव तिरस्कृत भइरहे ।।

बस्नलाई कुनै आलिसान महल
चाहिएन उनीहरूलाई
गुड्नलाई सवारी साधन
चाहिएन उनीहरूलाई
माटोमा जन्मेर माटोमै
मरेर गए तिनीहरू
लुटेरै भए पनि पद, प्रतिष्ठा
बटुल्ने हरूले व्यङ्ग्य कसीरहे–
तिमीहरू कहिल्यै माथि पुग्दैनौ
शयौ पुस्ता पुग्ने सम्पत्ति
असुल्ने हरूले भट्टयाईरहे–
तिमीहरू कहिल्यै धनी हुँदैनौ
सुख सयल त चाख्नै पाउँदैनौ ।।

प्रतिउत्तरमा दिमाग लगाएर
सोची रहे उनीहरूले
के होला त्यो माथि भनेको ?
के होला त्यो सुख सयल र
धन, सम्पत्ति भनेको ?
सबैलाई कुल्चिँदै हिँडेको
अक्षम्य पैताला हो कि ?
अविवेकले विवेकलाई थिचेको
अभिमानी मुकुन्डो हो कि ?
या त त्यो भन्दा पनि माथि
ज्युँदै यमपुरीको यात्रा हो कि ?

सत्य हतकडी लागेको बेला
नैतिकता हराएको बेला
राज गर्ने नै दैत्यहरूले हो
विद्धानहरू त गुमनाम हुनुपर्छ
चुपचाप बस्नु पर्छ अझ,वैराग्य
धारण गरेर खरानी घस्नुर्छ
सानो अंश भए पनि, बुद्ध
र ऋषि मुनि बन्नुपर्छ
त्यो भन्दा माथि उठेर
हरीश्चन्द्र बन्न सक्नु पर्छ
यसमा भनीरहनुपर्नै त्यस्तो
कुनै आश्चर्य छ र ?