अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको दावी : त्यो मेरो अडियो होईन, क्यारिकेचर गरिएको हो

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:३० मा प्रकाशित

७४ करोड कमिशन डिलको अडियो बाहिर आएपछि राजीनामा दिनुभएका नेकपाका नेता गोकुल बाँस्कोटाले सो अडियो आफ्नो नभएको प्रष्ट पार्नुभएको छ । आरोप लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएर सवै सुविधा बालुवाटारमै छाडेर फर्कनुभएका बाँस्कोटाले भेटन आउने आफन्त र नजिकका साथीभाईसँग राजीनामापछि सो भनाई राख्नुभएको हो ।

अडियो प्रकरणमा पार्टीभित्रकैै नेताहरु लागेकोबारे जानकार रहनुभएका बाँस्कोटाले जिज्ञासा राख्दै भेटन आउने आफन्तसँग भन्नुभएको छ, ‘त्यो मेरो अडियो होईन, क्यारिकेचर गरिएको हो, समयक्रममा सवै षडयन्त्रहरु पर्दाफास हुँदै जानेछ ।’ त्यसो त मन्त्री बाँस्कोटाले जिटुजी प्रक्रिया अघि बढाएर सेकुरिटी प्रिन्टिङ प्रेस अहिलेसम्मकै सस्तो मुल्यमा ल्याइपुर्याउनु भएको थियो । ‘जी टु टी मा खरिद गर्दा सरकारले अरु कोही चिन्दैन, यस्तो खरिद प्रक्रियामा कसरी कमिशनको डिल हुन्छ,’ सरकारकै एक मन्त्री भन्छन । तर आरोप लागेपछि राजीनामा दिनुभएका बाँस्कोटाले अडियो प्रकरणमा अख्तियार, सिआइवीदेखि सवैलाई छानविन गर्न खुला प्रस्ताव राखिसक्नु भएको छ ।

कमिशन डिल भनिएको अडियो बाहिर ल्याएको दिन मन्त्री बाँस्कोटा कैलालीमा हुनुहुन्थ्यो । त्यतिवेला पनि उहाँले उक्त अडियो आफ्नो नभएको र ७ वटा जोडेर बनाएको होला भन्ने प्रतिक्रिया दिनुभएको थियो । प्रश्न उठेपछि राजीनामा दिनुभएका बाँस्कोटाले यस बिषयमा फेस गर्ने घोषणा गरिसक्नुभएको छ । कैलालीबाट सिधै काठमाडौं आएर राजीनामा दिएपछि चुपचाप बस्नुभएका बाँस्कोटाले आफन्तलाई भने यस प्रकरणमा सबिस्तार जानकारी दिनुभएको हो ।

‘उहाँले थुप्रै मानिसहरु कमिशनको कुरा गर्दै आएको र आफूले सवैको कुरा बुझेपछि जीटुजीमा प्रेस खरिद गर्दा नै मुलुकको ढुकुटी जोगिन्छ भन्ने निश्कर्ष निकालेको जानकारी दिनुभयो, उहाँ आफूले कुनै गल्ती नगरेकोमा ढुक्क हुनुहुन्छ,’ निवर्तमान मन्त्री बाँस्कोटासँग भेट गरेर फर्किएका एक आफन्तले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू