अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

बरामद सुन बाँडिचुँडी लिने इन्स्पेक्टरसहित १६ प्रहरी निलम्वित

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:२८ मा प्रकाशित

प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसमेत १६ जना प्रहरी निलम्वनमा परेका छन्। बरामद सुन बाँडिचुँडी लिएको र सोको प्रमाण नष्ट हुन सक्ने संभावना देखेपछि अख्तियारले पठाएको पत्रका आधारमा उनीहरुलाई निलम्वन गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नं.को कन्टेनर चेकजाँच गर्ने क्रममा पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडिएको थियो।

उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाई मासेको भन्ने सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको अवस्थामा उक्त कार्यमा संलग्न व्यक्तिहरु पदमा बहाल रहँदा आफू विरुद्धको प्रमाण नास गर्न सक्ने देखिएपछि निलम्वन गर्न प्रहरी प्रधान कार्यालयलाई अख्तियारले पत्र पठाएको थियो।

निलम्वनमा पर्नेहरुमा इन्स्पेक्टर खेम प्रसाद नेपाल, प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली, सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपीबहादुर लो तामाङ रहेका छन्।

त्यस्तै प्रहरी जवानहरु शिव नारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, तारा बहादुर प्रजा र सहायक हरी बहादुर श्रेष्ठ पनि निलम्बनमा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू