अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 18:48

७० करोड अडियो प्रकरणबाट ध्यान अन्यत्र मोड्न नेपाल ट्रष्टमा मलाई मुछियो – सभापति देउवा

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:२७ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजमा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्नु भएको छ । सरकारले मंगलबार श्वेतपत्र मार्फत नेपाल ट्रष्टको सम्पत्ति सार्वजनिक गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएको बखत ताहाचलको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएको उल्लेख गरेको छ ।

श्वेतपत्र जारीपछि पूर्व प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ती जारी गर्दै आफु प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको नभएको दाबी गर्नुभएको छ । उहाँले आफ्नो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा आफ्नो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति गम्भीर आपत्ति रहेको पनि विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

काँग्रेस सभापति देउवाले विज्ञप्तीमा अगाडि भन्नुभएको छ ‘प्रथमतः ०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो, अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ ।’

देउवाले विज्ञप्तीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्न सरकारले यो प्रपञ्च रचेको पनि आफ्नो ठहर रहेको उल्लेख गर्नु भएको छ । अतः कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दबाबलाई निरन्तरता दिन पनि विज्ञप्ती मार्फत सभापति देउवाले सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू