अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

‘कोरोना’ संक्रमणबाट इटालीमा चारजनाको मृत्यु

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३७ मा प्रकाशित

इटालीमा नयाँ ‘कोरोनाभाइरस’को संक्रमणबाट सोमबारसम्ममा चारजनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लोपटक एकजना ८४ वर्षका वृद्धको कोरोनाकै संक्रमणबाट मृत्यु भएको हो ।

इटालीको लोम्बार्डीमै यसअघि अरु तीनजनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ–बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ । इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा १५० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना संक्रमित व्यक्ति देखिएका छन् । लोम्बार्डीका १० ओटा तथा छिमेकी भेनिटो सहर–गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झन्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन ।

स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् । कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरी ‘ए’ फुटबल खेलहरु स्थगन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा सन्चालित ओपेराहरु रद्द गरिएका छन् । इटालीमा सबैभन्दा बढी कोरोना संक्रमितहरु लोम्बार्डीमा भेटिएका छन् । अधिकारीहरुले पहिलो कोरोना संक्रमित ३८ वर्षीय व्यक्तिमाथि कडा निगरानी गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू