अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

अनलाइन ट्राभल प्लेटफर्ममा रहनुको महत्त्व उपर प्रकाश पार्ने उद्देश्यको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ फागुन ९ गते ११:५० मा प्रकाशित

एक्सेलट्रिपको होटेल व्यवसायीलाई सङ्कटमा साथ कोरोना भाइरस महामारीका कारण विश्व पर्यटन बजारमा पर्यटकको सङ्ख्यामा आएको गिरावटबाट नेपाल समेत प्रभावित बनेको छ । नेपालको पर्यटन बजारलाई सबल बनाउन, ‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय अभियानको बजारीकरणलाई प्रवर्धन गर्न तथा डिजिटल बजार र अनलाइन बुकिङको महत्त्वबारे होटेल व्यवसायीलाई जानकार अनि जागरूक बनाउन एक्सलट्रिपले दुई धारे पहलकदमी थालेको छ ।

अनलाइन बुकिङको महत्त्वबारे होटेल व्यवसायीलाई घरदैलो अभिमुखीकरण सँगसँगै एक्सलट्रिपले नेपालका आफ्ना सूचीकृत होटेलका निम्ति घरेलु तथा अन्तर्राष्ट्रिय पर्यटकको बढौतीका लागि ‘सोसियल मिडिया’ अभियानको रणनीति लिएको छ। यस्तो सङ्कटको घडीमा एक्सलट्रिपले आफ्नो नवीनतम प्रविधियुक्त बुकिङ इन्जिनको उपयोगद्वारा विश्व पर्यटकीय बजारमा अवसर सिर्जना गर्न सकिने सम्भावना बारे व्यवसायी बिच घनिभूत छलफल तथा अन्तरक्रिया गरेको छ। यसै शृङ्खलाको एक कडीका रूपमा नेपालको पहिलो अनलाइन ट्राभल एग्रेगेटर (ओटिए) एक्सलट्रिप नेपालले चितवनको पर्यटकीय केन्द्र सौराहास्थित जङ्गल सफारी लजमा गत फागुन ६ गतेका दिन अनलाइन ट्राभल प्लेटफर्ममा रहनुको महत्त्व उपर प्रकाश पार्ने उद्देश्यले एक अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा एक्सलट्रिप नेपालका राष्ट्रिय निर्देशक तथा सह-संस्थापक आदित्य बरालले नेपालको वर्तमान पर्यटकीय प्रवाह बारे बोल्दै यसको एक्सलट्रिप जस्ता अनलाइन प्लाटफर्मसंगको परस्पर सम्बन्ध माथि प्रकाश पारे। “प्रविधिले हाम्रो उद्यमलाई डिजिटल बाटोमा जान मात्र प्रेरित गरेको छैन”, बरालले भने, “एउटा चुस्त एवं सुदृढ प्रविधिले नेपालको भ्रमण उद्यमलाई सबलीकरण गर्दै आएको छ।” उनले अगाडि भने, ” हाम्रो बुकिङ इन्जिनले आन्तरिक यात्रुलाई चलायमान बनाउँदै मुलुकको एक कुना वाट अर्को कुनासम्मको यात्रालाई सहज बनाउँछ। त्यसैले अन्तर्राष्ट्रिय भ्रमण गतिविधि बिथोलिँदा (उदाहरणका लागि कोरोना भाइरस) हाम्रो महत्त्व झनै बढ्दछ।” सरकारले समेत आफ्ना लक्षित समूहसम्म पहुँच बढाउन यस्तो प्रविधि अवलम्बन गर्नु उचित हुनेमा उनले जोड दिए। “अन्य बुकिङ इन्जिन विपरीत हामी व्यवसायीको घरदैलोसम्म पुग्दै सूचीकृत गर्छौँ, जसबाट हाम्रा स्थानीय व्यवसायी आफ्ना अन्तर्राष्ट्रिय प्रतिस्पर्धीसँग कारोबार गर्न सक्ने सामर्थ्यको विकास गर्न सक्छन्”, बरालले थपे ।

अन्तर्क्रियामा भाग लिँदै एक्सलट्रिपका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक ज्ञानेन्द्र खड्काले प्रत्येक होटेलको आवश्यकता संशोधन निम्ति एक्सलट्रिप विशेष रूपले निर्माण गरिएको धारणा राखे। ” ब्लक चेन प्रविधिमा आधारित हाम्रो विशिष्ट कृत इन्जिन बुकिङ डट कम, अगोडा जस्ता अन्तर्राष्ट्रिय बुकिङ इन्जिन समेतलाई बजार सबलीकरणका दृष्टिले उछिन्ने सामर्थ्य राख्दछ”, खड्काले जोड दिए, “अव उप्रान्त नेपालमा रहेका कुनै पनि व्यवसायी नेपाली भाषामा बोल्दै अन्तर्राष्ट्रिय बजारबाट आफ्ना निम्ति कारोबार गर्न सक्ने सुविधामा रहनेछन्।” खड्काका अनुसार यस ओटिए नेपालमा रहेकाले अन्तर्राष्ट्रिय पर्यटक घटेको समयमा समेत यसले घरेलु पर्यटकको आवश्यकता सम्बोधन गर्दै होटेल तथा रिसोर्टलाई लाभ दिलाउनेछ। चितवन तथा अन्य पर्यटकीय केन्द्रको मौजुदा उत्पादन र सेवाको विविधीकरण निम्ति डिजिटल मार्केटिङको महत्त्वबारे पनि खड्काले प्रकाश पारे।

“सञ्चालनको यति छोटो समयभित्र नै हाम्रा विशेषता, वितरण र सञ्जालले यस उद्यममा बनाएको दह्रो पकडबाट हामी अत्यन्तै उत्साहित छौँ”, खड्काले प्रसन्नता व्यक्त गरे, “यसबाट सबै पक्ष लाभान्वित बन्दै एउटा कोशे ढुङ्गा पनि बनाइसकेका छौँ।” एक्सलट्रिपको सबैभन्दा आकर्षक पक्ष चाहिँ, यसले ‘भिजिट नेपाल २०२०’ भर होटेल तथा रिसोर्टलाई शून्य प्रतिशत र सन् २०२१ देखि १० प्रतिशत कमिसन प्रदान गर्दछ। एक्सलट्रिपको विशिष्ट कृत सेवा प्रणालीका कारण मुलुकभित्र रकम बक्यौताको झन्झटबाट व्यवसायी मुक्त रहनेछन्। यस अतिरिक्त, मुलुकमा बिदेसी मुद्रा भित्र्याउँदै एक्सलट्रिपले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान समेत राख्नेछ। यस शृङ्खलाको अर्को कार्यक्रम एक्सलट्रिपले आगामी मार्च महिनामा प्रदेश ५ मा गर्दैछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू