अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

त्रिभुवन विमानस्थलमा रोबोटको सेवा सुरु

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:२५ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट रोबोटको सेवा सुरु भएको छ । यी रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । साथै यहाँ सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । साथै नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना प्रवाह गर्न सक्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज त्रिभुवन विमानस्थलमा आयोजित एक कार्यक्रममा रोबोटको सेवा शुरुवात गर्नुभयो । आजको कार्यक्रम रोबोटबाटै सञ्चालन गरिएको थियो । रोबोट सञ्चालनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताउनुभयो । सेवा सुविधाका दृष्टिकोणबाट विमानस्थलको सेवा सहयोगी बनेको भन्दै यी रोबोट परीक्षणका रुपमा राखिएको जानकारी दिनुभयो ।

यसले यात्रुलाई सेवा दिन उपयुक्त ठानेमा अन्य विमानस्थलमा पनि यसलाई स्थापित गर्न सकिने उहाँको भनाइ छ । विमानस्थलमा दुई–तीन घण्टा बिताउँदा हुने ‘मोनोटोनस’ हटाउन र विमानस्थलमा यात्रुलाई भूल्ने वातावरण बनाउन समेत प्रविधि सहयोगी हुने उहाँको भनाइ छ । रोबोट जडानपछि विमानस्थलको सेवामा समेत भिन्न पहिचान थपिने उहाँको विश्वास छ ।

प्रतिरोबोट २० लाख रुपैयाँ लागत लागेको कार्यक्रममा जानकारी गराइएको छ । मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा त्रिभुवन विमानस्थलको आगमन र प्रस्थान कक्षमा रोबोट सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू