अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन सबै प्रमाणसहितको अभिलेख तयार : उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:३४ मा प्रकाशित

उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको जानकारी दिनुभएको छ ।युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कुटनीतिक पहलले गति लिएको बताउनुभयो ।

“राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो भूमिको दाबी गर्ने कार्य भएन, वर्तमान सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई आफ्नो दाबी गर्दै पत्र लेखी कूटनीतिक समाधान खोज्ने प्रयास गरेको छ,” उपप्रम पोखरेलले भन्नुभयो । उहाँले भूमिको अभिलेख राख्ने निकायको असावधानीका कारण समस्या उत्पन्न भएको भन्दै अहिले सबै प्रमाणसहितको अभिलेख तयार भएको जानकारी दिनुभयो । “देशको भूमि रक्षाका लागि प्रमुख प्रतिपक्षी दलसहित सबै दल एक ठाउँमा आउनुले थप बल पुगेको छ”, उहाँले भन्नुभयो, “नेपाली भूमि फिर्ता नभएसम्म हामी निरन्तर लडिरहन्छौं ।”

उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रका विभिन्न ठाउँमा दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सो क्षेत्रमा ३०/४० किलोमिटरको दूरीमा सुरक्षा पोष्ट राखिएको बताउँदै भौगोलिक असहजताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान निकै अप्ठ्यारो पर्ने गरेको बताउनुभयो । उहाँले विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले आफू केही दिनअघि सो क्षेत्रमा गए पनि अत्यधिक हिँउका कारण हेलिकप्टर ‘ल्याण्ड’ हुनसक्ने अवस्था नआउँदा अवलोकन नगरी फर्कनुपरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू