अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

भारत : महिनावारी नभएको पुष्टि गर्न भित्री कपडा खोल्न लगाइयो, प्रधानाध्यापकसहित ४ निलम्बित

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:३९ मा प्रकाशित

भारतकाे एउटा विद्यालयका प्रधानाध्यापक, छात्रावास रेक्टर, र चतुर्थ श्रेणीका कर्मचारीलाई निलम्बित गरिएकाे छ । पश्चिमी राज्य गुजरातमा रहेको सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययन गरिरहेका छात्राहरुले महिला कर्मचारीकाे अगाडि भित्री कपडा फुकाल्नु परेको बताएका बीबीसीले जनाएको छ । ६८ जना छात्रालाई कक्षाकोठाबाट शौचालयमा लगेर एक/एक गरी भित्री कपडा फुकाल्न लगाइएको खबरमा बताइएकाे छ ।

पीडित छात्राहरूका अनुसार महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै कलेजले यस्तो गरेको हो । कलेजको नियमअनुसार महिनावारी भएका महिलाहरूलाई मन्दिर तथा भान्सामा प्रवेश गर्न र अरु विद्यार्थीलाई छुन प्रतिबन्ध छ ।खाना खाने बेला महिनावारी भएका महिलाहरूले अरूभन्दा पर बस्नुपर्छ । आफ्नो थाल आफैले माझ्नुपर्छ र कक्षाकोठाभित्र सबैभन्दा पछाडिको बेन्चमा बस्नुपर्ने हुन्छ ।

हरेक छात्राले महिनावारी भएको बारेमा एउटा फायलमा नाम लेख्नुपर्नेमा गएकाे दुई महिनादेखि कसैले पनि नाम नलेखेपछि कलेज प्रशासनले महिनावारी भए वा नभएको पुष्टि गर्न लगाएको बीबीसीले जनाएको छ ।  याे घटना गएकाे ११ फेब्रुअरीमा एसएसजीआई परिसरकाे छात्रावासमा भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू