अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

मलेसियाको हेरिटेज पेजेन्टसमा नेपालको प्रतिनिधि परिँदा र परिसा

कुबेर गिरी २०७६ फागुन ६ गते १०:१६ मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘२०२०’मा परिँदा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । उक्त प्रतियोगितामा श्रेष्ठले मिसेस् र रानाभाटले मिस तर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।

हेरिटेज पेजेन्टसका लागि आधिकार प्राप्त संस्था ग्रिन आर्ट मिडियाले मङ्गलवार पुल्चोक स्थित भिभान्त होटेलमा कार्यक्रमको आयोजना सहित दुवै प्रतियोगी सार्वजनिक गरेको हो । सो अवसरमा ग्रिन आर्ट मिडियाले दुवै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्टस नेपाल २०२०’को क्राउन समेत लगाइदिएको थियो ।

इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले पानमा बत्ती बालेर सुरु भएको कार्यक्रममा पूर्व प्रतियोगी मिसेस् दुर्गा बिसुराल, मिस अदिति बुढाथोकी, मिसेस् मञ्जु ढकाल लगायतको उपस्थिति रहेको थियो ।

केही दिन अगाडि राजधानीमा आयोजित ‘हेरिटेज पेजेन्टस नेपाल’को प्रारम्भिक अडिसनबाट दुवै प्रतियोगी छानिन सफल भएका हुन् । अडिसनमा विवाहित तथा अविवाहित गरेर २०० बढी महिलाको सहभागिता रहेको थियो ।

‘हेरिटेज् पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११देखि २० अप्रिलसम्म आयोजना हँुदैछ । नेपाल लगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरूको प्रतियोगितामा सहभागिता रहनेछ ।

प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्त्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले इप्लानेट प्रा.लिले आयोजना गर्दै आएको हो ।

नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्रफी रहने प्रतियोगिता आयोजनाको उद्देश्य विश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले बताए ।
‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवर्द्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ बाट सुरु भएको हो । पहिलो संस्करण नेपालमा आयोजना भएको प्रतियोगिता भारतको नयाँ दिल्ली, श्रीलङ्कामा, सिंगापुर हुँदै अहिले मलेसियामा आयोजना हुन लागेको हो ।