अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

नेपाल ‘कोरोना फ्री जोन’- पर्यटक तान्न चीनका मिडियामा विज्ञापन दिइने !

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:३६ मा प्रकाशित

चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारले विभिन्न काम गर्ने भएको छ । सरकारले नेपाल अहिलेसम्म कोरोनाबाट संक्रमित नभएको संदेश प्रवाह गर्नेदेखि, विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारीसहितको विज्ञापन पनि प्रकाशनरप्रसारण गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले पर्यटनसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेर कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा असर पर्न नदिन ५ बुँदे निर्देशन दिनुभएको छ । नेपाल कोरोना मुक्त क्षेत्र रहेको श्रब्यदृष्य प्रचार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा ३ दिनभित्र तयार गरेर व्यापक प्रचार(प्रसार गर्न मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ ।

यस्ता सामग्री मन्त्रालय, विदेशमा रहेका कुटनीतिक नियोग, पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालय लगायतका निकायका वेवसाइटमा राखिनेछ । यस्तै चीनले सामना गरिरहेको सामनाप्रति ऐक्यवद्धता जनाउँदै यो संकट समाधानमा चीनले सफलता पाउने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देश ७ दिनभित्र तयार पारेर चिनियाँ सञ्चारमाध्यम र चीनमा रहेका नेपाली नियोगमार्फत सम्प्रेषण गराउन मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ ।

यस्तै वैकल्पिक बजार छानेर १२ स्थानमा डेस्क राख्न पर्यटन बोर्डलाई मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ । प्रमुख पर्यटन बजारबाट सेलिब्रेटी, खेलाडी र सञ्चारकर्मीलाई नेपाल घुमाएर प्रचार गर्ने र नेपाल उडान गर्न चाहने विदेशी वायुसेवा कम्पनीलाई प्रोत्साहन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू