अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

अदालतको सफाईपछि पूर्वसभामुख महरा रिहा

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:३६ मा प्रकाशित

बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाउनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट विदा हुनुभएको छ । उहाँलाई कारागारमै रहेका पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए । महरा कारागारबाट नीजि कार चढेर घरतर्फ जानुभएको थियो ।

सोमबार काठमाडौं जिल्ला न्यायाधीश अमरराज पौडेलको एकल इजलासले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो। महराको रिहाईको आदेश पछि स्वागतको लागि कार्यकर्ता तथा शुभेच्छुकहरुको डिल्लीबजार कारागार पुगेका थिए।

यसअघि, जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको थियो । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मक रुपमा नमिलेकाले महरा निर्दोष ठहर भएको श्रेष्तेदार श्रेष्ठले जानकारी दिनुभयो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए । संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो ।

अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुनुभएको छ । पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिनुभएको थियो । जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू