अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

विद्युत चुहावट १० प्रतिशतमा सिमित, १० अर्ब रुपैंयाँ जोगियो

बिआरटीनेपाल २०७६ फागुन ४ गते ८:०७ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरण विद्युत् चुहावट १० प्रतिशत भन्दा तल कायम गर्न सफल भएको छ । यसबाट चुहावटमा खेर जाने १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा संचालन गरेको चोरी तथा चुहावट नियन्त्रणकै परिणाम, चुहिएर जाने विद्युतको समेत आर्थिक लाभ प्राप्त भएको जनाएको छ ।

नियमित विद्युत् आपूर्तिपछि चोरी तथा चुहावटमा संलग्न समेत हच्किएको प्राधीकरणले जनाएको छ । प्राधीकरणका अनुसार, चालू आर्थिक वर्षको पहिलो छ महिनामा वितरणतर्फको औसत विद्युत् चुहावट ९.७८ प्रतिशतमा झरेको छ । आर्थिक बर्ष २०७५/७६ मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावट चालू बर्षको पहिलो छ महिनामा १.५० प्रतिशत विन्दुले घटाएर ९.७८ प्रतिशतमा सीमित भएको प्राधिकरणको दावी छ ।

चालू बर्षमा वितरणतर्फको चुहावट ८.५० प्रतिशतमा सीमित गर्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार तथा विस्तारमा ध्यान केन्द्रित गरेको जनाएको छ । आव २०७२/७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५/७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको थियो । चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने प्राधिकरणको लक्ष्य छ । सामान्यता प्राविधिक चुहावट घटाउन ठूलै मेहनत जरुरी पर्छ । तर त्यसलाई समेत क्रमशः घटाउँदै जाने प्राधिकरणको लक्ष्य रहेको छ ।

चुहावट नियन्त्रणबाट मात्रै वार्षिकरुपमा १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । विद्युतभार कटौतीको अन्त्य भई नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका प्रभावकारी कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको घिसिङले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू