अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

एन्फाद्वारा नेपाली राष्ट्रिय टिमका ४ खेलाडीको निलम्वन फुकुवा, खेलमा फर्किए

बिआरटीनेपाल २०७६ फागुन ४ गते ७:१९ मा प्रकाशित

एन्फाले अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको चार खेलाडीहरुको निलम्बन फुकुवा गरिएको छ । विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत कात्तिक ३० गते प्रतिबन्ध लगाएको थियो । एन्फाले कात्तिक ३० देखि लागू हुने गरी स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई कारबाही गरेको थियो। उनीहरुको निलम्बन फुकुवा भएर हाल खेल्न थालेका छन्।

फिफा क्वालिफयर २०२२ को लागि भुटानमा खेल्न जानु अघिल्लो रात उनीहरु राति २ बजेसम्म ठमेलका विभिन्न ‘नाइट क्लब’हरुमा रहेका थिए । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको थियो। कारबाहीमा परेकाहरु मध्ये विमल र दीनेशलाई ९० दिन, सन्तोष र अन्जनलाई ४५ दिन खेल्न प्रतिबन्ध लगाइएको थियो। एन्फाले अनुशासन तोडेको भन्दै उनीहरुलाई जनही ५० हजार जरिवाना गराएको थियो।सन्तोष र अन्जनको निलम्बन पुस १५ गते नै फुकुवा भएको थियो भने दीनेश र विमलको माघ ३० गते भएको थियो ।

एन्फा अनुशासन समितिका उपाध्यक्ष सुरेश बस्नेतका अनुसार उनीहरुले अनुशासन तोडेको कुरा आफैंले स्वीकार गरेका थिए। निलम्बनमा परेपछि खेलाडीहरुले निलम्बन समय घटाउन धेरै पटक एन्फालाई गुहारेका थिए। एन्फाको निलम्बनमा परेकामध्ये विमल घर्ती मगर शनिबार निलम्बन पछिको पहिलो खेल खेलेका थिए। उनी यो सिजन मछिन्द्र क्लबसँग आबद्ध भएका छन्। निलम्बनमा परेपछि उनीहरुले घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) समेत गुमाउनु परेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू