अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 11:15

बिहीबारे साहित्य: उनकै यादले सताउँछ….

आर सि पन्त २०७६ फागुन १ गते १०:५३ मा प्रकाशित

कुरो अलि जटिल नै छ । स्कुल पढ्दा कक्षाकै सबैभन्दा राम्री उनलाई मैले पनि मन परा कै हो, उनलाई थाहा नभएर के भो र ? त्यति बेला आफैलाई टम क्रुज ठानि उनको नाम आफ्नो नाडीमा सल्किरहेको चुरोटले पोली पोलि लेख्दा कति कठिन भएको थियो, त्यो क्षण सम्झँदा अझै पनि जिउ नै सिरिङ्ग सिरिङ्ग हुन्छ । यादले भ्याए सम्म, मेरो चुरोटको लत बसेको पनि त्यही ताका देखिनै हो । आजकल पनि यसो चिसो मौसम छ, एक सर्को तनौ न झैँ लाग्छ, चुरोटको खिल्ली देख्ने बित्तिकै उनैको यादले सताउँछ । नेपालीमा प्रेम पत्र लेख्दा उनको ब्वाईफ्रेन्ड लिस्टबाट बाहिर परिएला भन्नि डरले गर्दा कनि कनि अङ्ग्रेजीमा प्रेम पत्र कति लेखिए लेखिए । कहिले कॉंहि शब्द चयनमा गल्तिहुॅंदा साथीहरूको माझ हाॅंसोको पात्र नबनेको पनि हैन तैपनि अङ्ग्रेजी शब्द कोषबाट शब्द छानि छानि लेखिन थाले ।

आज पनि यसो कतै फरर अङ्ग्रेजी बोलियो भनी या दुईचार हरफ दमदार अङ्ग्रेजी लेखियो भने पनि उनैको यादले झलझली सताई रहन्छ, उनकै देन हुन यी भन्नि भान भई रहन्छ । यति धेरै ध्यान उनको चुलबुले नखराले तान्यो कि कुरो गरी साध्यै छैन । हेडसरले गणित पढाउँदा कालो पाटीको नोट टिपिरहेको मेरो हातको कलम कुनै बेला एउटै बिन्दुमा घुमेको घुमै हुँदो रहिछ, घर पुगेर नोट पल्टाए पछि पो थाहा हुन्थ्यो । उनलाई हेरेर म यति लट्ठ हुॅंदो रहिछु कि त्यति लट्ठ त अस्ट्रेलियन प्रजातिको कोअला, खान खाईयकेपछि नि पर्दैन थियो होला । कति पटक त गणित सरले चकको धुलो पुछेका हातले मेरा चिल्ला गालामा थप्पडले पड्किदा पुरै कक्षाकोठा भरि चकको सूक्ष्म कणहरूसँगै मेरो प्रेमका कणहरू पनि नउडेका थिए होला भन्न सकिन्न ।

हिजो आज पनि कहिले कॉंहि गणित विषय पढेको दिन किताबमा भन्दा बढी ध्यान उनकै यादले नै सताई रहन्छ । बोडिग्ङ स्कुल बसमा सॉंझ घर फर्किने बेला संयोग बस दुईचार पटक हामी एउटै सिटमा नपरेको पनि हैन । कुनै दिन उनी झ्याल पट्टि कुनै दिन आफै झ्याल पट्टि । म आफू झ्यालपट्टि परेको दिन, खुमलटार झर्नुपर्ने म केही नबोलीकनै उनी झर्ने बालुवाटार नपुगेको दिन भएन । कति दिन त बस ड्राइभरले आफ्नो ठाउँमा नझरेको भनी बसबाट बिच बाटैमा झारिदिएको पनि यादहरू ताजै छन् ।

त्यसपछि उनकै याद बोकि केही बाटो लखर लखर हिड्दै अनि केही बाटो टेम्पु चढेर घर गएको पत्तै नहुने । घर ढिला पुगेपछि आमाले अब यो केटो बिग्रियो स्कुलबाट घरै नआई टोलका केटाहरूसँग हल्लिएर हिँड्छ भन्दा ,कहिले कहि त घमन्डका साथ आमा तपाइकी बुहारीलाई घर सम्म छोडेर आँको भन्दिम झैँ लाग्थ्यो । हिजोआज पनि अफिसबाट कहिले कॉंहि कामबाट थाकेर घर पुग्दा आमाले आज त ढिलो आइस् नि बाबु भन्दा उनैको यादहरू झलझली ऑंखा अघिल्तिर आई पुग्छन् । त्यो उमेरमा कयौँ दिनको खाजा खर्च जम्मा गरी गरी उनकै लागी भनी भोको पेट बसी बसी गुलाबको फूल र ग्रिटिङ कार्ड किने होला । कहिले कहि त साथी भाइसँग पैसा उधारो मागेर किने होला ।

दसौँ वर्ष बित्यो तर त्यो साथीको पैसा अझै फिर्ता नभएको सम्झाई रहन्छ । त्यो पटक पनि प्रेम दिवसकै दिन गुलाबको फूल र कार्ड किने अनि अङ्ग्रेजीमै चिठी लेखे । अब आज त घर फर्किने बेला बसमा पुरै प्रेम दिवस प्याकेज नै दिने निर्णय नै गरे । बसको सिट एउटै परेन, उनी अघि म पछि सिटमा परियो, केहिबेर एकैनास उनैलाई हेरेपछि थाहा पाए पुरै प्रेम दिवस प्याकेज दिन त म भन्दा अर्कै पो चाँडो भएछ । त्यस दिन भने आफ्नै झर्ने ठाउँमा झरेर लखर लखर समयमै घर पुगे । आमाले पनि हिजो अस्ति गाली गरेको, आज कक्षा छोडेर भागेर त आईनस भन्नु भयो । त्यस दिन पछि कहिल्यै पनि बालुवाटारसम्म यात्रै गर्नुपरेन, तर हिजो आज पनि त्यो बाटो भएर कतै जाॅंदा उनकै यादले सताउॅंछ । हरेक वर्षहरू जस्तै प्रेम दिवस (भ्यालेन्टाइन डे) नजिकिँदै गर्दा ती स्कुले दिनहरू अनि उनै निष्ठुरीको यादले सताउॅंछ ।

प्रतिक्रिया