अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने नेकपा अध्यक्ष प्रचण्डको भनाइ

बिआरटीनेपाल २०७६ फागुन १ गते ७:३९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने टिप्पणी गर्नुभयो ।

विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उहाँले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको जनाउँदै जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्रज्यवादलाई कमजोर बनाउने उल्लेख गर्नुभयो । उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका करीब ३०० नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू