अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

‘कोरोनाभाइरस’का कारण विश्व अथतन्त्रमा पनि असरको खतरा

बिआरटीनेपाल २०७६ माघ २९ गते ७:३० मा प्रकाशित

विश्वमा स्वास्थ्य संकट निम्त्याएको ‘कोरोनाभाइरस’को अप्रत्यक्ष असर विश्वको अर्थतन्त्रमा झन् ठूलो पर्ने देखिएको छ । वुहान सहरबाट फैलिएको भाइरसका कारण विश्व अर्थतन्त्रले अर्बाैं डलर बराबरको क्षति व्यहोरिसकेको छ भने अझै कति क्षति व्यहोर्नुपर्ने हो भन्ने निश्चित छैन । चीनमा ४३ सयओटा ‘आउटलेट’ रहेको स्टारबक्स कफीले आधाभन्दा बढी आउटलेटहरु बन्द गरेको छ ।

यस्तै, ३३ सय आउटलेट रहेको म्याकडोनल्डको हालत पनि उस्तै छ भने केएफसीलगायतका विश्वका चेन रेष्टुराँहरुको चीनको व्यापार लगभग बन्दको अवस्थामा पुगेको छ । रेष्टुराँमात्रै होइन, चीनको चुस्त र सस्तो जनशक्तिको फाइदा उठाउँदै चीनमा उत्पादन संयन्त्र जडान गरेका विश्व प्रसिद्ध कम्पनीहरुले पनि उत्पादन बन्द गरेका छन् । अमेरिकी मोटर कम्पनीहरु फोर्ड, टेस्ला र जापानी मोटर कम्पनी निशानले चीनमा रहेका कारखानाबाट उत्पादन बन्द गरेका छन् ।कोरियाको मोटर कम्पनी हुण्डाईले चीनबाट पार्टपूर्जा आउन नसकेको भन्दै उत्पादन आधा घटाएको छ । अर्को मोटर कम्पनी फक्सवागनले पनि आफ्नो उत्पादन साइकलमा गडबड आएको बताइसकेको छ ।

यस्तै, मोबाइल कम्पनी आइफोनसमेत चीनमा रहेका पार्टपूर्जा निर्माण कारखानाबाट उत्पादन बन्द गर्न बाध्य भएको छ । यसबाट यी कम्पनीहरुलाई कति नोक्सानी पर्छ भन्ने हिसाब अहिले नै आउने अवस्था छैन । किनकि, कोरोनाभाइरस कहिले नियन्त्रणमा आउँछ र यी कम्पनीहरु कहिलेदेखि सुचारु हुन्छन् भन्ने यकिन छैन । फनपार्क सञ्चालन गर्ने डिज्नेले भने कोरोनाभाइरसका कारण चीन र हङकङमा आफूले अहिलेसम्म व्यहोरेको क्षतिको विवरण बाहिर ल्याएको छ ।डिज्नेले साङहाई र हङकङका फनपार्क बन्द गर्नुपर्दा एक सातामै झण्डै १८ करोड डलर नोक्सानी भएको बताएको छ ।

विश्व प्रसिद्ध ब्राण्ड नाइकले चीनमा आधाभन्दा धेरै स्टोर बन्द गरेको छ भने अमेरिकी फेसन कम्पनी ट्यापेस्ट्रिले यस वर्षको पहिलो ६ महिनाको बिक्री २५ करोड डलरले कम हुने प्रक्षेपण गरेको छ । कोरोनाभाइरसको झड्का काल्सबर्ग बियरमा पनि परेको छ । काल्र्सबर्गले कोरोनाभाइरसका कारण उत्पादन घटाउनु परेको बताएको छ । कोरोनाभाइरसको असर पर्यटन क्षत्रेमा पनि उत्तिकै परेको छ । अमेरिकन एअरलाइन्स, डेल्टा एअरलाइन्स, युनाइटेड एअरलाइन्स, क्याथे प्यासेफिकलगायतले चीनमा उडान स्थगित गरेको एक साताभन्दा बढी भइसक्यो ।

यस्तै, अमेरिकाले एअर चाइनाको सेवालाई सीमित गरेको छ । यसैगरी, नोक्सानी व्यहोरेको अर्को क्षेत्र हो, क्यासिनो । मकाउमा रहेका ४१ ओटा क्यासिनो दुई साताका लागि बन्द गरिएका छन् । क्यासिनो बन्द भएसँगै त्यहाँ रहेका महँगा होटलहरुको व्यापारमा यसै सुक्खा लागेको छ । जसबाट दैनिक लाखौं डलरको घाटा भइरहेको छ । चीनमा रहेका कम्पनी तथा व्यापारिक प्रतिष्ठानहरु मात्रै होइन, चिनियाँलक्षित व्यापार पनि विश्वभर प्रभावित भएको छ । यसबाट विश्व अर्थतन्त्रमा पर्ने असरको सामना अर्को चुनौती हुने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू