अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

आईसीसी विश्वकप क्रिकेट लिग २ – अमेरिकामाथि नेपालको कीर्तिमानी जित

बिआरटीनेपाल २०७६ माघ २९ गते ७:२५ मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्योे । यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो लक्ष्य पुरा गर्दै कीर्तिमानी जित निकालेको छ । विश्वमा भने यो तेस्रो सर्वाधिक छिटो जित हो । नेपालको जितमा पारस खड्काले अविजित २० रन जोड्नुभयो । यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाउनुभयो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिनुभयो । सन्दीपले ६ ओभरमा १ मेडन सहित १६ रन खर्चिएर ६ विकेट लिनुभएको हो ।

अमेरिका माथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ । ओमानसँग दुई खेलमा पराजित गरेको नेपालले अमेरिकालाई भने दुई खेलमा पराजित गरेको हो । पहिलो भेटमा अमेरिकालाई नेपालले ३५ रनले हराएको थियो ।

दुई जितसँगै नेपालले लिगको ४ खेलमा ४ अंक जोडेको छ । नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू