अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउने किताबहरू अमेरिकामा सार्वजनिक

बिआरटीनेपाल २०७६ माघ २७ गते २०:४७ मा प्रकाशित

भर्जिनिया, अमेरिकामा रहेका नेपाली बालबालिकालाई मातृभाषा नेपाली सिकाउनका लागि शिव लामिछानेद्वारा लेखिएका ‘मेरो मातृभाषा नेपाली’ का तीन तहका किताबहरू फेब्रुअरी ९ मा संयुक्त राज्य अमेरिकामा सार्वजनिक गरियो । अमेरिका नेपाल सहयोगी समाजले सन् २०१६ देखि सञ्चालन गरेको अमेरिका नेपाल शिक्षा सदनको चौथो वार्षिकोत्सवका अवसरमा ती किताबहरू सार्वजनिक गरिएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिका अध्यक्ष प्रा डा गोपी उप्रेती र शिक्षा सदनका चार जना बालिकाहरू आर्यतारा क्षेत्री, रीतिस्मा ढकाल, अभिलेखा भण्डारी र सुनिता अधिकारीले संयुक्त रूपमा ती किताबहरू सार्वजनिक प्रदर्शन गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा शिक्षा सदनका बालबालिकाले नेपाली गीतहरूमा नृत्य प्रस्तुत गरे । बालबालिकालाई वर्षभरिको उनीहरूको भाषा सिकाइका साथै विविध क्षेत्रमा उनीहरूले प्रस्तुत गरेको प्रतिभा र क्षमताका आधारमा पुरस्कार, छात्रवृत्ति र प्रमाणपत्रहरू प्रदान गरियो ।

अमेरिका नेपाल सहयोगी समाज प्रकाशक गरेको ‘मेरो मातृभाषा नेपाली’ किताबका आधारभूत, मध्यम र उच्च गरी तीन तहका किताबहरू तथा आधारभूत तहको किताबको थप अभ्यासका लागि अभ्यास पुस्तिकासमेत चार किताबहरू प्रकाशनमा रहेका छन् । प्रवासका विभिन्न देशमा रहेका नेपाली समुदायबाट नेपाली भाषा, कला, संस्कृति र संस्कारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नेपाली भाषा पाठशालाहरू भइरहेका भए पनि प्रवासमा नेपाली भाषा सिकाउन सहज हुने गरी हालसम्म पुस्तक तयार नभएको अवस्थामा समाजले प्रकाशन गरेका यी किताबहरूले नेपाली भाषाका सजिलो पाठ्यपुस्तकको अभावलाई यस पुस्तकले पूरा गर्ने अपेक्षा अमेरिका नेपाल सहयोगी समाजले गरेको छ ।

पाठ्यपुस्तकको प्रकाशनबाट प्रवासमा नेपाली भाषा पढाउन र बुझाउन विगतमा भइरहेको कठिनाइलाई यस पुस्तकले व्यावहारिक तहबाटै समाधान गर्ने विचार आज आयोजित एक समारोहमा बोल्दै समाजका अध्यक्ष केदारप्रसाद तिम्सिनाले व्यक्त गरे । सन् २०१८ को अक्टोबरमा पाठ्यक्रम र पाठ्यपुस्तकका लागि समाजले एक समिति गठन गरेको बताउँदै उनले सो समितिको सक्रियताबाट करिब सोह्र महिनामा विभिन्न तहका लागि तीन पुस्तक र आधारभूत तहको अभ्यास पुस्तिका समेत चार पुस्तकहरू तयार गर्न समिति सफल भएको कुरा अध्यक्ष तिम्सिनाले बताए ।

पाठ्यपुस्तक तयारीका लागि शिक्षा सदनका संयोजक रोम ज्ञवालीको संयोजकत्वमा शिव लामिछाने, रमेश ढकाल र विष्णु न्यौपाने सदस्य रहेको एक समिति गरेको थियो । हाल तयार भएका तीन तहका किताबहरू चार वर्षदेखि चौध वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरीहरुलाई नेपाली भाषा, नेपाली संस्कृति, रहनसहन, चाडपर्व, प्राकृतिक विविधता, सांस्कृतिक विविधता सिकाउनमा लक्षित ।

नेपालमा अढाई दशक भाषा शिक्षण गर्नुका साथै आफैँ करिब एक दर्जन विभिन्न विधाका पुस्तक लेखिसकेका शिव लामिछानेले आधारभूत तह र मध्यम तहका किताबहरू तयार गरेका हुन् । उनलाई यस कार्यका लागि शिक्षा सदनका संयोजक रोम ज्ञवाली, समाजका उपाध्यक्ष रमेश ढकाल र शिक्षा सदनका स्वयंसेवी शिक्षक विष्णु न्यौपानेले विभिन्न तहमा सहयोग गरेका थिए । उच्च तहको पुस्तकमा लेखक लामिछानेले अरू विद्धान विदुषीहरुका व्यावहारिक र उपयोगी रचनाहरूलाई पनि स्थान दिई नयाँ पुस्तालाई आफ्नै माझमा उभिएका आफ्नै समयका महान् व्यक्तित्वहरू चिन्ने अवसर दिएको बताए । सार्वजनिक करण समारोहमा बोल्दै लामिछानेले मेरो मातृभाषा नेपाली किताबको तयारीका क्रममा भएका विभिन्न प्रक्रीयाहरुबारे संक्षिप्त मन्तव्य दिए । भाषाका रूपमा नेपाली भन्दा एकै भए वा सुनिए पनि नेपालका बालबालिका र नेपालबाहिर जन्मेका बालबालिकालाई नेपाली भाषा बोल्न र लेख्न सिकाउन फरक तरिका र विधिहरू अवलम्बन गर्नुपर्ने तथ्य पनि उनले सुनाए ।

लेखकले अमेरिका नेपाल शिक्षा सदनको स्वयंसेवी शिक्षकका शिक्षा सदनमा आफूले प्रवेश पाएको पहिलो दिनको संस्मरण गर्दै कुराकानीका व्रmममा किताब लेख्ने जिम्मेवारी नै समाजले दिएकामा समाजप्रति आफू आभारी भएको बताए । संयोजक रोम ज्ञवाली, पुस्तकका परिकल्पनाकार रमेश ढकाल तथा अर्का लेखन सहयोगी विष्णु न्यौपानेबाट निरन्तर सहयोग पाएको, विषय वस्तु माथि विभिन्न तहमा शिक्षा सदन भित्रका कक्षाकोठामा, शिक्षकहरूका बिचमा र उत्तरी भर्जिनियाका अरू पाठशालाहरूमा पनि शिक्षकहरूसित भेट गरी छलफल गर्ने गरेको उनले सुनाए । उच्च तहको पुस्तकमा नेपाल, नेपाली संस्कृति, नेपालका पर्यटकीय स्थल, सम्पदाहरू, नेपाली चाडपर्व, रीतिस्थिति, रहनसहन, जातीय विविधता आदि वारे ज्यादै गहन, सूचनामूलक, व्यावहारिक र सरल प्रस्तुतिका पाठहरू उपलब्ध गरी पुस्तकलाई बढी महत्त्वपूर्ण र व्यावहारिक बनाउन सहयोग गरेकामा सबै लेखकहरूप्रति उनले आभार व्यक्त गरे । पाठ्यपुस्तकको तयारीका क्रममा कक्षा कोठाभित्र पुस्तक भित्रका पाठहरूको व्यावहारिक प्रयोग गरी उपयुक्त सुझाव दिएर यसलाई अझै सरल र प्रकाशन योग्य बनाउन सहयोग पुर्याएकामा सेन्टर विलमा सञ्चालित नेपाली पाठशाला, लोर्टनमा सञ्चालित नवदुर्गा नेपाली स्कुल, हर्नडन नेपाली आदर्श समाजद्वारा सञ्चालित नेपाली पाठशाला तथा उड ब्रिज नेपलिज सोसाइटीद्वारा सञ्चालित नेपाली पाठशालाका शिक्षक तथा अभिभावकहरूप्रति पनि लामिछानेले आभार व्यक्त गरे ।

अमेरिका नेपाल सहयोगी समाजका उपाध्यक्ष रमेश ढकालले आफू दुई बालबालिका लिएर नेपाली स्कुल आउँदा यहाँका बालबालिकालाई व्यावहारिक हुने पाठ्यक्रम आवश्यक भएको आफूले महसुस गरेका र एक व्यावहारिक पाठ्यपुस्तकको परिकल्पना गरेको बताए । ढकालले सो आवश्यकताको परिपूर्तिका लागि उपयुक्त समय २०१८ को अत्यतिरमात्र आएको बताए । लेखकको अनुभव र अरूलाई सुन्न सक्ने क्षमता कारण पुस्तकलाई बढी व्यवहारिक बनाउन सकिएको अनुभव उनले सुनाए । लेखिएका हरेक पाठहरू शिक्षा सदनका विभिन्न तहका बालबालिकासित शिक्षा सदनको कक्षा कोठामा प्रयोग गरेपछिमात्र त्यसको व्यावहारिकता र प्रयोगात्मक उपयोगिता जाँच्ने काम भएको छ ढकालले बताए । यी पाठहरू शिक्षा सदनका शिक्षक शिक्षिका तथा उत्तरी भर्जिनियाका अरू चार नेपाली पाठशालाका बालबालिकासित कक्षा कोठामा बिताएका शिक्षक शिक्षिकासित विभिन्न चरणमा बन्दै गरेका पाठ्यपुस्तक र पाठ्यक्रम माथि छलफल भएको ढकालले बताए ।

हाल तयार भएका आधारभूत तह र मध्यम तहका ‘मेरो मातृभाषा नेपाली’ किताबहरूमा मा एक वर्षमा हप्ताको दुई घण्टाका दरले कक्षा कोठामा भाषा शिक्षण गर्दा चालीसवटा कक्षाका लागि आवश्यक पर्ने सामग्रीहरू राखिएका छन् । उच्च तहको ‘मेरो मातृभाषा नेपाली’ किताबलाई कक्षाकोठाको सिकाइको समय सीमाबाट बाहिर राखी वृहत् अध्ययन गर्न र किशोर किशोरीका तहमा अनुसन्धान गर्न उपयुक्त विषयवस्तु समेटिएका छन् ।

आधारभूत तहको मेरो मातृभाषा नेपाली विन्दु बनाउन सिकाएर सुरु हुने र उच्च तहको किताबमा बुद्धका महान् उपदेश र अहिंसाका विचारहरूको अध्ययन गराउने गरी विन्दुदेखि बुद्ध पढाउने परिकल्पना पुस्तकबाट पूरा हुने अपेक्षा गरिएको कुरा संयोजक रोम ज्ञवालीले बताए । यति छिटो चार वटा किताब तयार गर्न सफल भएकामा आफूलाई गर्व लागेको बताउँदै संयोजक ज्ञवालीले यसमा अहोरात्र खटिने लेखक लामिछानेलाई विशेष धन्यवाद दिए । विद्यालयका स्वयंसेवी शिक्षक रहेका विष्णु न्यौपाने शिक्षक र सङ्गीतकार पनि भएकाले किताबमा रहेका कविता र गीतहरूलाई छिटै सङ्गीत गरी सार्वजनिक गरिने योजना रहेको बताए ।

सार्वजनिक भएका किताबमा सुरुकै दिनमा कक्षामा साना बालबालिकालाई नमस्ते भन्न, आफ्नो नाम बताउन तथा परिवारका अरू सदस्यको नेपालीमा नाम बताउन बोलीको अभ्यास गराइने पाठहरू राखिएका छन् । यसमा व्यञ्जन र स्वर वर्णका अक्षर उच्चारण र लेखनको ज्ञान तथा सीपका कक्षाहरू छन् । मात्रा नलागेका र लागेका शब्दको उच्चारण र लेखन अभ्यास राखिएका छन् । आधा अक्षरको लेखन, उच्चारण र तिनको शब्दमा प्रयोगको तरिका सिकाइएको छ । आधारभूत तहको नेपालीमा बालबालिकाले दसैँ, तिहार, घरका विभिन्न भागका नाम, शरीरका अङ्गहरूको नाम, सात बार, बाह्र महिना, एक देखि बिस सम्मको अङ्क र अक्षरमा लेखन, नेपाली नोटहहरुको ज्ञान दिइएको छ । पाठहरू कवितात्मक तथा साथमा भिडियो लिङ्कहरू राखिएका छन् । कूल चालिस कक्षामा पूरा गर्ने परिकल्पनाका साथ तयार भएको आधारभूत तहको पुस्तक १०० पृष्ठको छ । यसमा केही अतिरिक्त पाठहरू र अभ्यासहरू राखिएका छन् । यसको अभ्यास पुस्तिकामा मूल किताबका अभ्यासलाई बढी सरल र धेरै बनाएर बढी अभ्यास गर्न सहयोग हुने गरी तयार गरिएको छ ।

मध्यम तहको किताबमा आधा अक्षर, शब्दहरू, वाक्यहरू, अनुच्छेद लेखनका पाठहरू राखिएका छन् । साथै बोधगत रूपमा उत्तर दिन सकिने, बहुउत्तरात्मक प्रश्नहरू तथा एकाएक वाक्यमा उत्तर दिन सकिने प्रश्नहरू राखिएका छन् ।

उच्च तहको किताबलाई अलिक फराकिलो र वर्णनात्मक बनाइएको छ । यस तहमा नेपाली प्रकृति, इतिहास, भाषा, संस्कृति, धर्म, पर्यटकीय स्थलहरू, चाडपर्वहरूलाई कविता, कथा, गीत, निबन्ध, संवाद, नाटक आदिका माध्यमबाट प्रस्तुत गरिएको छ । यस तहको किताबमा शब्दको अर्थ नेपाली र अङ्ग्रेजीमा दिइएको छ । यसबाट अमेरिकाका स्कुलका कक्षा ६ देखि ९ सम्म अध्ययन गरिरहेका बालबालिकाले अङ्ग्रेजीमा अर्थ जानिसकेका नेपाली शब्दको अर्थ नेपालीमा जान्न सहयोग पुग्ने पाठ्यक्रमले अपेक्षा गरेको लेखकले बताए ।

मध्यम तहको किताब १०० पृष्ठको र उच्च तहको किताब १६४ पृष्ठको रहेका छन् । चारै वटा किताबहरू लेटर साइजको कागजमा चार रङ्गमा प्रकाशित छन् । प्रकाशक संस्था अमेरिका नेपाल सहयोगी समाजले यी किताबहरू हाललाई उत्तरी भर्जिनियाका पाँच नेपाली पाठशालाहरू, मेरिल्यान्डका दुई पाठशालाहरू, कोलोराडो, टेक्सस, फ्लोरिडा, केन्टकी र क्यालिफोर्नियाका पाठशालामा पुर्याउने लक्ष राखेको छ । साथै अमेरिकाबाहिर बेलायत र अस्ट्रेलियाबाट पनि किताबको माग भएको कुरा यस किताबका परिकल्पनाकार समेत रहेका समाजका उपाध्यक्ष रमेश ढकालले बताए ।

किताबहरूको प्रकाशनका लागि राम लामा अविनाशी तथा प्रा. डा. गोपी उप्रेतीले सहयोग गर्नुभएकोमा वहाँहरूप्रति प्रकाशक संस्थाका तर्फबाट किताबका परिकल्पनाकार रमेश ढकालले आभार व्यक्त गरे ।

उच्च तहको किताबमा प्रा. डा. गोपी उप्रेती, गोविन्द गिरी प्रेरणा, शिव लामिछाने, राम लामा अविनाशी, विष्णु खरेल, सुदीपभद्र खनाल, दुर्गा रिजाल, विमला निरौला, जगन्नाथ पौडेल, रोम ज्ञवाली, चन्द्रिका खतिवडा, सुनिता सुवेदी, ददि ढुङ्गाना लगायतका विद्वान विदुषीहरूका नेपालका विविधता, स्वास्थ्य, अध्यात्म आदि विषयमा विविध विधामा पाठहरू राखिएका छन् ।

प्रतिक्रिया