अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

डेनाली चढ्ने शर्मिलाको सङ्कल्प

बिआरटीनेपाल २०७६ माघ २७ गते १७:४३ मा प्रकाशित

न्यु योर्क । आरोही शर्मिला थापाले अमेरिकास्थित माउन्ट डेनाली आरोहण गर्ने घोषणा गरेकी छन् । उनले शनिवार पत्रकार सम्मेलन गरी आगामी मे ९ मा माउन्ट डेनाली आरोहण गर्ने घोषणा गरेकी हुन् ।

‘मेरो टोलीले २०२० को मे ९ मा माउन्ट डेनाली आरोहण गर्ने पक्का भएको छ,’ उनले भनिन्, ‘त्यसका लागि अनुमति पत्र समेत लिइसकेका छौँ ।’ शर्मिलासँग देश विदेशका विभिन्न हिमाल ३५ पटक आरोहण गरेका इन्टरनेशनल माउन्टेन गाइड तुलसी गुरुङ हुने छन् ।

शर्मिलाले माउन्ट डेनाली आरोण खर्चिलो पनि भएको उल्लेख गर्दै अमेरिकामा रहेका नेपाली समुदायलाई सहयोगको अपिल गरेकी छन् । ‘खर्च झन्डै ४० हजार अमेरिकी डलरसम्म लाग्ने देखिन्छ,’ उनले भनिन्, ‘व्यक्तिगत रूपमा खर्च बेहोरेर डेनाली आरोहण गर्न गाह्रो भएकाले यहाँ रहनुभएका नेपाली समुदाय, सङ्घ संस्था र सहयोगी मन भएका महानुभावहरूसँग सहयोग गरिदिनुहुन आग्रह गर्दछु ।’ सहयोगका लागि उनले गोफण्ड एकाउन्ट https://www.gofundme.com/f/climbing-mount-denali-in-alaska-usa?fbclid=IwAR2tgj6eNCESSGgg1ejRP46mHZ19VZERp2UyurAPrK_oBuHiHzc4c13ZhEE लग इन गरिदिन आग्रह गरेकी छन् ।

शर्मिलाले सन् २०१९ अप्रिल १० मा भर्जिन पिक माउन्ट ग्याल्जेन आरोहण गरेकी थिइन् । ६ हजार ५ सय ५१ मिटर अग्लो उक्त हिमालको शिखरमा शर्मिलाको टोलीले पहिलो मानव पाइला पुर्याएको हो । त्यही वर्ष सगरमाथा आरोहण गर्ने उनको योजना भने दुर्घटनामा परि सफल हुन सकेन ।

‘मेरो खुट्टामा फलामको पाता राख्नु पर्‍यो,’ उनले भनिन्, ‘त्यसपछि साथीहरुमात्र सगरमाथा आरोहणमा जानुभयो । म छुटेँ ।’ तर, उनले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर त्यसको प्रचार प्रसार गर्न पनि माउन्ट डेनाली चढ्न लागेको बताइन् । ‘माउन्ट डेनालीमा नेपालको झन्डा र भिजिट नेपाल २०२० को झन्डा फहराउने छु,’ उनले भनिन्, ‘मेरो यो अभियानमा नेपाल सरकार, एनआरएनए र अमेरिकास्थित विभिन्न सङ्घ संस्थाका पदाधिकारी र नेपाली समुदाय सकारात्मक हुनुहुन्छ ।’

शर्मिला एकल महिला पनि हुन् । उनले सन् २०११ मा समिदा वुमन डेभलपमेन्ट फोरम नामक संस्था स्थापना गरी घरेलु हिंसा पीडित एकल महिलाका लागि का मगर्दै आएकी छन् ।

शर्मिलाले सन् २०१५ मा युएनडिपीले प्रदान गर्ने पिस अवार्ड प्राप्त गरेकी छन् । उक्त अवार्ड उनलाई संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यु योर्कका प्रदान गरिएको थियो । त्यसबाहेक उनले महिला अधिकारका पक्षमा बेलायत स्थित युनिभर्सिटी अफ नटिङहमसहित विभिन्न अन्तर्राष्ट्रिय तथा प्रतिष्ठित फोरममा वक्ताका रूपमा आफ्नो धारणा राखिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू