अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

आप्रवासी मैत्री बनेपछि न्यु योर्कमाथि खनियो ट्रम्प प्रशासन, न्यु योर्कवासीले ग्लोबल इन्ट्री प्रोग्राममा भाग लिन नपाउने

बिआरटि नेपाल संवाददाता, न्यु योर्क २०७६ माघ २६ गते ११:५७ मा प्रकाशित

आप्रबासी मैत्री नीति लिएपछि न्यु योर्कमाथि ट्रम्प प्रशासन र सङ्घीय सरकार खनिन थालेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) ले बुधवार न्यु योर्क बासीले ग्लोबल इन्ट्री सहित ट्रस्टेड ट्राभलर्स प्रोग्राममा भाग लिन नपाउने घोषणा गरेको छ ।

कागजातविहीन आप्रवासीलाई सहयोग पुर्याउने उद्देश्यले न्यु योर्कले केही महिना अघि ग्रिन लाइट ल पारित गरेको थियो । डिसेम्बरदेखि कार्यान्वयनमा आएको उक्त कानुनले कागजातविहीन आप्रवासीलाई सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) दिन सक्ने व्यवस्था गरेको छ । ड्राइभिङ लाइसेन्स सरकारी परिचय पत्र हो जसका आधारमा वैधानिक रूपमा रोजगारी प्राप्त गर्न सकिन्छ ।

उक्त कानुनले ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने कागजातविहीन आप्रवासीको व्यक्तिगत सूचना समेत गोप्य राख्ने व्यवस्था गरेर त्यसका आधारमा आप्रवासन सम्बन्धी काम गर्ने निकायबाट हुनसक्ने कानुनी कारबाहीबाट समेत सुरक्षित राखेको छ । त्यसको प्रतिक्रिया स्वरूप न्यु योर्कबासीलाई ट्रस्टेड ट्राभलर्स प्रोगाममा भाग लिनबाट वञ्चित गरिएको हो । ‘न्यु योर्कबासीले अब उप्रान्त ट्रस्टेड ट्राभलर्स प्रोग्राममा भाग लिन पाउने छैनन्,’ डिएचएसका सेक्रेटरी चाड उल्फले फक्स न्युजलाई भनेका छन्, ‘कुन न्यु योर्कवासी उक्त प्रोग्राममा सहभागी हुन योग्य छन् भन्ने थाह पाउन नसक्दा हामीले यस्तो कदम चालेका हौँ ।’

ग्रिन लाइट ल अनुसार न्यु योर्कबाट ड्राइभर लाइसेन्स पाउने व्यक्तिको जानकारी ट्रम्प प्रशासन र सङ्घीय सरकारले पाउँदैन । ट्रस्टेड ट्राभलर्स प्रोग्राममा सहभागी हुने योग्यता व्यक्तिगत सूचनाका आधारमा तय गरिन्छ ।

ट्रस्टेड ट्राभलर्स प्रोग्राम अन्तर्गत युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन इन्ट्रीले त्यसमा सहभागीलाई सीमा क्षेत्रका भन्सारमा छिटो छरितो गरी काम गरेर अमेरिका भित्रिन सजिलो बनाइदिन्छ । त्यसैगरि क्यानडा र अमेरिका आवतजावत पक्रियामा सीमामा लाग्ने समय छोटो बनाइदिन्छ ।

न्यु योर्कका गभर्नर एन्ड्रयु कुमोले यो विशुद्ध राजनीतिक कदम भएको प्रतिक्रिया दिएका छन् । उनले यो कदमको सरकारी नीति र कानुनसँग कुनै सम्बन्ध नरहेको पनि बताएका छन् । ट्रम्प प्रशासनको यो कदमबाट करिब ५० हजारदेखि ८० हजार न्यु योर्कवासी तत्काल प्रभावित हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया