अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

युनाइटेड मुगुम अर्गनाइजेशनले न्युर्योकमा मनायो सोनाम लोसार

बिआरटीनेपाल २०७६ माघ २४ गते ९:३१ मा प्रकाशित

अमेरिका । युनाइटेड मुगुम अर्गनाइजेशनले न्युर्योकको क्विन्समा भव्यरुपमा सोनाम लोसार मनाएको छ । संस्थाका अध्यक्ष पेमा नामग्यालको अध्यक्षतामा सम्पन्न लोसार कार्यक्रममा अध्यक्ष नामग्यालले न्युयोर्कमा धेरै पहिलेदेखि लोसार मनाउँदै आएको भए पनि न्युर्योकमा नेपाली सङ्घ संस्थासँग पहिलो पटक लोसार मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

अध्यक्ष नामग्यालले उपस्थित सबैलाई धन्यवाद दिँदै आउने वर्षहरूमा सबै मिलेर यसरी नै लोसार मनाइने बताए । उनले संसारको जुनसुकै ठाउँमा पुगे पनि आफ्नो धर्म, संस्कार र संस्कृति भुल्न नहुने तथा भावी पुस्ताका लागि त्यसको संरक्षण र सम्बद्र्धनमा लाग्नुपर्ने सबैको दायित्व रहेको बताएका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासङ्घ (फिफ्ना) का अध्यक्ष लोक चेम्जोङले मुगुम अर्गनाइजेशनले पहिलो पटक सबै समुदायलाई समेटेर लोसार मनाएकोमा संस्थाको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

मुगाली समाज नेपालमा त्यस्तो थोरै जातिमा पर्ने जाति नभएको बताउँदै नेपालमा १२५ भन्दा बढी जातजाति रहेको र त्यसभित्र मुगाली समुदाय विशेष पहिचान बनाउँदै अगाडि बढेको बताए । ‘हाम्रो देश यस्तो देश हो, जहाँ हाम्रो पुर्खा वा आमाहरूले बनाएको जडिबुटीनै कडा औषधिको रूपमा काम गर्छ,’ अध्यक्ष चेम्जोङले भने । अध्यक्ष चेम्जोङले नेपालीको पहिचान दौरा सुरुवाल मात्र नभएर विभिन्न जातजातिको संस्कार र संस्कृति पनि नेपालीको पहिचान रहेको बताउँदै नेपालमा पहिचानको सहितको सङ्घीयता स्थापित हुनुपर्ने बताए । उनले यस विषयमा समग्र आदिवासी जनजातिहरू एक भएर आवाज उठाउनुपर्ने समेत बताए ।

त्यस्तै चेम्जोङले सोही कार्यक्रममार्फत सम्पूर्णलाई अमेरिकाको जनगणना २०२० मा रजिस्टर हुन समेत अनुरोध गरेका थिए । संस्थाका सचिव गेलेक नामग्यालले स्वागत मन्तव्यका क्रममा मुगालीहरुको भेष भूषा Dress एउटा विशेष भएको तर अचेल उक्त ड्रेस सहज रूपमा नपाइने बताए । उनले मुगालीहरुले आफ्नो भेषभुषाका बारेमा सोच्नुपर्ने समय आएको र आफ्नो परम्परालाई बचाइ राख्नका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा मुगुमका मुगाली लामा र प्रमुख अतिथिद्वारा गौतम बुद्धको मूर्तिमा खादा चढाएर नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान गएर कार्यक्रमको सुरुवात गरिएको थियो ।

सोही अवसरमा कलाकार सङ्घ अमेरिकाका अध्यक्ष सुमन बुढा मगरले मुगाली समाज आफ्नो पारिवारिक समाज रहेको बताउँदै मुगाली समाजको संस्कृति र भेषभुषाका बारेमा प्रशंसा गरेका थिए । उनले यो संसारमा खोजेर नपाइने भन्दै आफ्नो भेषभुषामा सजिएर आएकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै ढोक्पे किदुंगका अध्यक्ष गोभा जीवन लामाले मुगाली समाज र आफ्नो समाजको संस्कार धेरै कुरामा मिल्दोजुल्दो रहेको बताउँदै सुरुका दिनमा आफ्नो समाजले पनि यसरी नै सुरुवात गरेको बताए । उनले भविष्यमा सबै सङ्घसंस्थासँग भाइचाराको सम्बन्ध कायम गर्दै आफ्नो चाडपर्वलाई यसरी नै मिलेर मनाउने प्रतिबद्धता जनाए ।

एभरेस्ट टाइम्सका पत्रकार निमा पाख्रिनले नेपालमा मुगाली समाज धेरै चर्चित समाज रहेको बताउँदै आफू नेपालको धेरै ठाउँमा भ्रमण गरेता पनि मुगुममा नपुगेको तर न्युर्योकमा आएर भेट्ने अवसर जुरेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले आफ्नो मौलिक परम्परालाई जोगाउँदै आफ्नो हक अधिकार र पहिचानको लागि हामी सधैँ एक भएर अघि बढ्नुपर्ने बताए । दुई चरणमा भएको उक्त कार्यक्रममा पहिलो चरणमा शुभकामना आदान–प्रदान रहेको थियो भने दोस्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालका चर्चित डान्सर गीता राईले नृत्य प्रस्तुत गरेकी थिइन् भने कलाकारहरू छिरिङ तेन्पा, ज्याम्पा तेन्जिन, गेलेक नामग्याल, भिटिक, छिरिङ भिटिक, गालदेन, तेन्जिन साङमो, कुङगा डीमे, टासी दुन्डुप र कुञ्जोम तथा अतिथि कलाकारहरू चर्चित लोक गायक सुमन बुढामगर, गीता राई र सुवर्ण शाक्यले आ–आफ्नो कला प्रस्तुत गरेका थिए । मुगाली समाजका अन्य कलाकारहरूले गायन तथा नृत्य प्रस्तुत गरेको कार्यक्रममा समाजका आमा बुबा तथा दाजुभाइ दिदीबहिनीहरूले मुगाली संस्कार अनुसारको नृत्य र गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रमकी संयोजक जनजाति महासङ्घ अमेरिकाकी सचिव टोमा लामाले गरेको कार्यक्रम सञ्चालनका क्रममा लामाले आफूले खेलेका फिल्मका केही झलक पनि प्रस्तुत गरेकी थिइन् । उनले मुगालीहरुको आफ्नै संस्कार र संस्कृति भएकाले राज्यले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताइन् । उनले मुगाली समुदाय आफ्नो हक अधिकारका लागि संसारको जुनै ठाउँमा भए पनि एक भएर अगाडि बढ्ने समेत बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू