अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

महाभियोगबाट राष्ट्रपति ट्रम्पलाई सफाइ, महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति

बिआरटीनेपाल २०७६ माघ २३ गते ६:११ मा प्रकाशित

महाभियोगको सामना गर्नुभएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाउनुभएको छ । ट्रम्पकै रिपब्लिकन पार्टीको बहुमत रहेको त्यहाँको माथिल्लो सदन सिनेटले उहाँलाई सफाइ दिएको हो । महाभियोग पारित गर्ने या नगर्ने भन्नेबारे बुधवार सिनेटमा भएको मतदानमार्फत् ट्रम्पले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाउनुभएको छ । यससँगै महाभियोग सामना गरेर पनि चुनावमा जाने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति बन्नुभएको छ ।

सिनेटमा शक्तिको दुरूपयोग गरेको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२.४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उहाँको पक्षमा ५३.४७ मत परेको हो । रिपब्लिकन बहुमत रहेको माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाइ मत चाहिन्थ्यो ।

महाभियोग ट्रम्पका विपक्षी डेमोक्य्राटहरूले गत डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाव दिएको भन्दै त्यहाँको तल्लो सदन हास अफ रिप्रेजेन्टेटिभमा दर्ता गराएका थिए । डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदनले गत १८ डिसेम्बरमै महाभियोग पारित गरेको थियो । तर माथिल्लो सदन सिनेबाट भने फेल भएको हो ।

बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका विषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो । ट्रम्प आउँदो नोभेम्बर महिनामा हुने राष्ट्रपतिको चुनावमा जानुहुने भएको छ । महाभियोग सामना गरेर पनि चुनावमा जाने ट्रम्प अमेरिकी इतिहासको पहिलो राष्ट्रपति हुनुहुनेछ ।

यद्यपि तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले भने ट्रम्प अझै पनि अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले सिनेटका रिपब्लिकनहरूले कानुनहिनतालाई सामान्यीकरण गरेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया