अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

एनआरएनएद्धारा पोर्चुगलमा दूतावास स्थापनाको माग

बिआरटीनेपाल २०७६ माघ २० गते २:५६ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ । एनआरएनले सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेको हो । एनआरएनले पोर्चुगल पछिल्लो समय यूरोपको हबका रुपमा विकसित भइरहेको र त्यहाँ नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीसँग एनआरएनएका प्रतिनिधिले आग्रह गरेका छन् ।

दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीहरुलाई समस्या भएको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालीमा लगानी प्रवर्द्धन र व्यापार तथा पर्यटन विस्तारका लागि पनि अपरिहार्य रहेको उल्लेख छ । मन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै एनआरएनए पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले लामो समयदेखि आफूहरुको माग सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“पोर्चुगलमा बस्ने नेपालीको संख्या बढेको त छ नै, त्यहाँ भएर यूरोपका अन्य स्थानमा आउजाउ गर्नेको चाप पनि थपिँदै गएको छ,“ गैरैले मन्त्रीसँगको भेटमा भन्नुभयो, “राज्यका तर्फबाट अभिभावकीय भूमिका निर्वाह गर्ने दूतावास नहुँदा समस्या भएको छ ।“ सिंहदरबारस्थित कार्यकक्षमै ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले एनआरएनएको प्रयासमा नेपाल सरकार सकारात्मक रहेको बताउनुभयोए । मन्त्री ज्ञवालीले भन्नुभयो, “त्यहाँको समस्या समाधानका लागि एनआरएनएको पहल सकारात्मक छ । हामी उपयुक्त निकासबारे छलफल गरिरहेका छौं ।“ पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्स धाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू