अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

कोलोराडोमा सरस्वती पूजा तथा साहित्यिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ माघ २० गते १२:३७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरद्वारा थ्रन्टन, कोलोराडोमा विद्याकी देवी सरस्वतीको पूजा अर्चना तथा साहित्यिक रचना वाचनको कार्यक्रम सम्पन्न भयो । च्याप्टरको अध्यक्ष तारा अधिकारीको सरस्वती वन्दना र सभापतित्वबाट सुरु भएको कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरूलाई र सरस्वतीका अनुयायीहरूलाई च्याप्टरका महासचिव सम्झना आचार्यले स्वागत भाषणद्वारा कार्यक्रममा स्वागत गर्नुभएको थियो भने साहित्यकार तथा बुद्धिजीवी डा. विजयराज शर्माले सरस्वती पूजाको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा बालबालिका लगायत उपस्थित सबैले सरस्वतीको तस्बिरमा पूजा अर्चना गरेका थिए । तत्पश्चात् उपस्थित बालबालिकाहरूलाई अनेसास बोर्ड अफ ट्रष्टिजका सदस्य प्रमीला शर्मा, अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तारा अधिकारी, उपाध्यक्ष मिना पौडेल र सचिव यशोदा भट्टले कपी कलम, इरेजर, कटर लगायत शैक्षिक सामाग्रीहरू वितरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी थुप्रै बालबालिकाहरूले आफूलाई प्रदान गरिएको सामाग्री प्रयोग गरेर लेखन अभ्यास गरेका थिए । कार्यक्रममा सरस्वती पूजाको महत्त्वको सम्बन्धमा अनेसास बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा अनेसास, कोलोराडो च्याप्टर कार्यकारी समितिद्वारा मनोनीत हुनुभएका च्याप्टरका सल्लाहकारहरूलाई परिचय र स्वागत गर्ने क्रममा सल्लाहकारहरू रोहिणीकुमार शर्मा, पदम विश्वकर्मा, केशव आचार्य र निर्मल प्याकुरेललाई च्याप्टर अध्यक्ष तारा अधिकारीले खादा ओढाएर स्वागत गर्नुभएको थियो भने सल्लाहकारहरूले उपस्थित साहित्य अनुरागीहरू माझ आफ्नो परिचय दिनुभएको थियो । यसै गरी च्याप्टरको कार्यसमितिमा भर्खरै मात्र मनोनीत हुनुभएका सदस्य कपिलदेव सुवेदीलाई पनि च्याप्टरका अध्यक्ष तारा अधिकारीले खादा ओढाएर स्वागत गर्नुभयो ।

कार्यक्रममा कोलोराडोका स्थानीय गायक दीपक गौतमले सरस्वती भजन गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो भने बालकलाकारहरु आर्या चालिसे र श्रिका आचार्यले नेपाली गीतमा आफ्नो नृत्य प्रस्तुत गरेर सबैको वाहवाही लुट्नु भएको थियो । आफ्नो गायन र नृत्य प्रस्तुत गर्ने तिनै जना कलाकारहरूलाई च्याप्टरका सल्लाहकारहरूको हातबाट प्रशंसा पत्र वितरण गरिएको थियो ।

तत्पश्चात् कार्यक्रममा साहित्यिक रचना वाचनको क्रम सुरु भएको थियो । यसरी साहित्यिक रचना वाचन गर्नेहरुमा वासुदेव खनाल, निर्मल प्याकुरेल, केशव आचार्य, डा. विजयराज शर्मा, प्रमीला शर्मा, पदम विश्वकर्मा, प्रभा आचार्य, श्रीराम लुइटेल, सम्झना आचार्य, हरिभक्त आचार्य, भूपेन्द्र महत, धना पौडेल, कपिलदेव सुवेदी, समीर आचार्य, केनु उपाध्याय, लालप्रसाद चौलागाईं, मिना पौडेल, यशोदा भट्ट र किरण अधिकारी हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा च्याटरका अध्यक्ष तारा अधिकारीले कार्यक्रममा उपस्थित हुने, कार्यक्रममा प्रसादको व्यवस्था गर्ने, लगायत कार्यक्रम सम्पन्न गर्न अन्य विभिन्न किसिमबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घोषण किरण अधिकारीले गर्नुभएको थियो भने बिआरटी नेपाल डटकम तथा हाम्रो आवाजले फेसबुक मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।

 

MORE PICTURES CLICK HERE

VIDEO

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू