अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

पालिका र रेडक्रसको सहकार्य बढ्दो, एम्बुलेन्स र स्वास्थ्य चौकी हस्तान्तरण

बिआरटीनेपाल २०७६ माघ १९ गते १०:२५ मा प्रकाशित

ललितपुरको दक्षिण क्षेत्र महाकाल गाउँपालिकालाई नेपाल रेडक्रसले महिन्द्रा बोलेरो एम्बुलेन्स गाडी हिजो शनिवार उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउँपालिका भवन परिसर, गोटी खेलमा महाकाल गाउँपालिका प्रमुख रामचन्द्र दाहाललाई एम्बुलेन्स गाडी र त्यसको साँचो हस्तान्तरण गर्नुभएको हो । बिमा, पेन्टिङ र लेखनसहित १२ लाख रुपैँयाकोे ‘ग’ वर्गको गाडी सहयोग पाएकोमा अध्यक्ष दाहालले खुसी व्यक्त गर्दै भन्नुभयो “दुर्गम यस क्षेत्रमा एम्बुलेन्सको अति खाँचो छ, चालकको भर्ना गर्न पदपूर्ति सूचना निकालिसकिएको छ र छिटै यो सेवा सुचारु हुनेछ ।”

नेरेसोका अध्यक्ष सञ्जीव थापाले सामान्यतया रेडक्रसको उपशाखाले नै एम्बुलेन्स सञ्चालन गर्ने प्रचलन भए पनि एम्बुलेन्स सेवा नीति अनुसार आवश्यक स्रोत साधन र कर्मचारी व्यवस्था सरल हुने र दिगोपना आउने अपेक्षा गरी गाउँपालिकाको अनुरोधमा पालिकालाई नै गाडी उपलब्ध गराइएको जानकारी दिनुभयो ।

ललितपुर रेडक्रसका सभापति बाबु राजा महर्जनको सभापतित्वमा सञ्चालित हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला लामा तामाङ, वडा अध्यक्षहरू, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, निर्देशक दिव्यराज पौडेल, बुद्धि सागर श्रेष्ठ, बेलायती रेडक्रसका प्रतिनिधि सोनाक्षी देव लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

नवनिर्मित स्वास्थ्य चौकी हस्तान्तरण र सामग्री सहयोग:
महाकाल गाविसको वडा नं ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । नेरेसो अध्यक्ष सञ्जीव थापाले गत वर्ष पौषमा शिलान्यास गर्नुभएको कर्मचारी आवास सहितको दुइतले नवनिर्मित भवनको सङ्घीय सभाका माननीय सांसद नवराज सिलवालले समुद्घाटन भएको हो । रेडक्रसले सो निर्माणका अलावा थप २ वटा स्वास्थ्य चौकीलाई उपकरणहरू पनि उपलब्ध गराएको छ । स्वास्थ्य चौकीका अहेव कला धर नेपालीले भन्नुभयो ः “वर्थिङ सेन्टर फोहर र साँघुरो थियो, फोहर डिस्पोज गर्ने व्यवस्था थिएन, रेडक्रसले ती समस्या पनि समाधान गरिदिएको छ । ” गाउँपालिका उपाध्यक्ष कमला लामा तामाङले एक वर्ष भित्रै दुर्गम स्थानमा निर्माण सम्पन्न भई समयमै हस्तान्तरण भएको यो ललितपुरमै नौलो कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो;  विकट वडाहरूमा सञ्चालित रेडक्रसको सामुदायिक विकास सबलीकरण कार्यक्रमले पनि जनताहरू प्रभावित छन् ।

सामुदायिक विकास सबलीकरण कार्यक्रम लोकप्रिय:
गोटी खेल ललितपुरकी गोमा परियार आफ्नो गाँसमा शौचालय, धारा, तरकारीबारी जस्ता क्षेत्रमा गएको नौ महिनामा आएको परिवर्तन देखेर दङ्ग हुनुहुन्छ । गोमाले आफैले रेडक्रसको सहयोगमा पाएको ३२ हजार पाँच सय नगदबाट पहिले नगरेको तरकारी खेती सुरु गरेकी गरी पहिलो चरणको १५ हजार आम्दानीले लुगा सिलाउने परम्परागत पेसालाई पनि विस्तार गर्नुभएको छ । उहाँको आम्दानी दोब्बर भएको छ ।

गोमाजस्तै महाकाल गाउँपालिकाको ३,४ र ५ नम्बर वडामा ६ सय २३ घरधुरीका मानिसले जीविकोपार्जन सुधारको लागि नगद सहयोग पाएको नेरेसो सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । छ वटा बिउ बोका, २० वटा स्प्रे मेसिन, गोठ सुधार, शौचालय निर्माणमा नगद सहयोग पनि समुदायका विपन्न मानिसहरूले पाएका छन् । बजारसम्म तरकारी लैजान तथा बेच्न सहयोगार्थ कृषि समूह मार्फत २० वटा जोख्ने मेसिन, ४०० वटा क्रेटहरुपनि सहयोग भएको छ । बेलायती रेडक्रसको सहयोगमा सबलीकरण कार्यक्रममार्फत ३ वटा खानेपानी योजना सम्पन्न भई १०४ वटा घरमा धारा जडान भएको छ । कार्यक्रम संयोजक क्षितिज आचार्यले बताउनुभयो “ पानी सङ्कलन र संरक्षणको लागि ४ वटा प्लास्टिक पोखरी निर्माण, गोरेटो बाटो निर्माण तथा एउटा पुल निर्माण जस्ता गतिविधिका साथै तरकारी खेती तालिम स्थानीयले असाध्यै रुचाएको पाइएको छ ।”

नेरेसोका कार्यकारी निर्देशकले नेपाल रेडक्रसका निकायहरूले स्वास्थ्य, खानेपानी, विपद् पूर्व तयारी र संस्थागत विकासको क्षेत्रमा आवश्यकता र स्रोतको उपलब्धताका आधारमा देशभरिका स्थानीय निकायसँग सहकार्य बढाउँदै गएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू