अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

मासिक धर्म

सरस पाण्डे २०७६ माघ १७ गते ८:३३ मा प्रकाशित

सामिप्यताको चाहना
निमोठिएर परपर फ्याॅंकिन्छन्
आफ्नैले अपहरण गर्छन्
न जुन न घामको कोठरीमा

नजरबन्दीलाई झैँ राखिन्छ
अनि,
लाग्छ आफ्नै जवानीले
आफैलाई सजाए दिएजस्तो

ठिकठाक शरीर लछप्पै भिजेजस्तो
फूल फुल्ने बारीमा मूल फुटेजस्तो
खै कस्तो कस्तो
फरक अनुभूतिको साङ्लोभित्र

जीवनको एक पाइलो अघि बढेका
खुट्टाहरू घरीघरी बाॅंधिन पुग्छन्
लड्न खोज्छन्
यसै गरी पटक पटक

अनेक प्रयास विफल हुॅंदा
निराशाको ढ्याङ्ग्रोले
अघि बढ्न
आत्तिएका पाइलाहरूलाई

पलपल भड्काइरहन्छ
यो कस्तो अचम्म!
फक्रिएको गुलाबी फूललाई
पूजा गरेर हर्षको

मालाले पुज्दै
एउटा विशेष उत्सव
मनाउनुपर्ने ठाउॅंमा
परपर सारिन्छ
यही हो त मासिक धर्म ?

धादिङ, हाल काठमाडौँ