अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

दीपेन्द्र के खनालको ‘आमा’ अमेरिका र नेपालमा एकै चोटि प्रदर्शनी हुने

बिआरटीनेपाल २०७६ माघ १५ गते १०:२१ मा प्रकाशित

आँखा रसाउने ट्रेलर

कोलोराडो, यही फागुन ९ अर्थात् फेब्रुअरी २१ बाट रिलिज हुन लागेको दीपेन्द्र के खनालको नेपाली चलचित्र ‘आमा’ अमेरिका र नेपालमा एकै चोटि प्रदर्शनी हुने भएको छ ।  यो चलचित्रको ट्रेलर डिसेम्बर १९ मा सार्वजनिक गरिएको हो । आज सम्ममा उक्त चलचित्रको ट्रेलरले ८६७,८६५ भ्यु पाइसकेको छ । अस्पतालमा अचेत अवस्थामा रहेका बाबु, श्रीमानको अप्रेसनका लागि संघर्षरत श्रीमती र विवाहित छोरी । यी तिन पात्रहरूको कथामा घुमेको छ चलचित्र आमा ।

मिथिला शर्मा चलचित्रको शीर्ष भूमिकामा छिन् । उनलाई साथ दिने अन्य कलाकारहरूमा नायिका सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुसाल, पदम प्रसाद पौडेल छन् । चलचित्रमा दीपेन्द्र के खनालको छायाङ्कन, लेखन र निर्देशन छ भने निर्मात्री शर्मिला पाण्डे हुन् । दीर्घ खड्काको सम्पादन, सुवास भुसालको सङ्गीत रहेको यो चलचित्रलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रका सहायक निर्देशक सन्तोष अधिकारी हुन् ।

चलचित्र ‘आमा’को ट्रेलरमा शीर्ष भूमिकामा काम गरेकी कलाकार मिथिला शर्माको बेजोड अभिनय देख्न सकिन्छ । आफ्नो बाबु आमाका लागि छोरा मात्र नभएर छोरीले पनि अहंम भूमिका खेल्न सक्छन् भन्ने भाव चलचित्रको ट्रेलरले बोकेको छ । चलचित्रको ट्रेलर हेरेपछि चलचित्र ‘पशुपति प्रसाद’ पछि दर्शकले खोजेको चलचित्र बनाएको दाबी गर्दै आएका दीपेन्द्र के खनालले यस पटक आफ्नो दाबीलाई वास्तविकतामा बदलेका छन् भन्न सकिन्छ । नेपाली चलचित्रको इतिहास ‘आमा’ सँग जोडिएको छ । पहिलो चलचित्र ‘आमा’ ले नेपाली चलचित्रको इतिहास बोकेको छ । यो चलचित्रले त्यो इतिहासलाई अगाडि बढाउन सक्ने विश्वास व्यक्त गर्न सकिन्छ ।

चलचित्र ‘आमा’ लाई अमेरिकामा प्रदर्शन गर्न आत्रेय प्रोडक्सनले जिम्मा लिएको छ । आत्रेय प्रोडक्सनका सुदिप आत्रेयले बिआरटी नेपालसँगको कुराकानीमा नेपालमा रिलिज भएको दिन अर्थात् फ्रेबुवरी २१ मा डालासमा प्रदर्शन हुने भएको छ । त्यसै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा कोलोराडोमा मार्च महिनामा प्रदर्शनी हुँदैछ भने अन्य अमेरिकी सहरहरूमा कुराकानी भइरहेको जानकारी दिएका छन् । आफ्नो सहरमा प्रदर्शनी गर्नु परेमा सुदिपलाई २५४ २१४ ७१८५ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया