अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

राष्ट्रियता बेचेर खाने तरल तत्त्व हैन

डा. दुर्गा दाहाल, “अनुभव” २०७६ माघ १५ गते ९:२० मा प्रकाशित

सम्पत्ति नेपालमा MCC नामक भूत संसद्मा र सर्वत्र निक्लिएको छ र मानिसहरूमा कोलाहलको स्थिति र अवस्था विद्यमान छ । यो भूत विचित्र प्रकृतिको छ र यसका पक्ष र विपक्षमा विभिन्न तर्कहरू प्रस्तुत भईरह्का छन् जो सर्वथा उपयुक्त पनि छ । मैले यस बारे बेला- बेलामा लेख्ने गरेको छु ।

यो विषय संसद्मा प्रवेश भएर प्रशस्त छलफल हुनु आवश्यक छ भनेर मैले पहिलेका लेखहरूमा पनि अभिव्यक्त गरी सकेको छु । कतिपय बुँदाहरू अस्पष्ट र नेपालको हितमा छैनन् हो तर यो एउटा संशय र शङ्काको सुविधा पनि हुन सक्छ । अमेरिकाले अथवा कुनै पनि राष्ट्रले अन्य देशहरूमा अनुदान दिँदा आफ्नो स्वार्थ नहेरी दिँदैन जसरी नजिकका साहूले अथवा मालिकले आफ्नो हितलाई मध्य नजर राखेर मात्र लगानी गर्छ । हचुवाका भरमा कुनै विषयमा कसैले विद्वताको खेती गर्नु हुन्न ।

हो, छिमेकी देश भारत र चीन हुन । तर हामीले के कुरा बुझ्नु ज़रूरी छ भने भारतले नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा कहिल्यै स्वीकार गर्दैन र अहिलेको संविधानलाई स्वीकृत गरेको छैन र गर्दैन पनि यद्यपि जन-स्तरमा कुनै गिला- सिकवा छैन । भारतीय परराष्ट्र नीति नेपालको पक्षमा छैन र नेपाली नेताहरूमा भारतीय आशीर्वाद प्राप्त नगरी देश हाँक्न सक्ने क्षमता छैन । यिनीहरू भारत-परस्त छन् ।

चीन पनि छिमेकी राष्ट्र हो तर यो पनि हाम्रो मामापट्टिको हैन । भारतले नेपालको बजार नलियोस र धेरै हाबी नहोस् भनेर तथा भारतले नेपालको राजनीति, अर्थनीति र विभिन्न गतिविधिहरूमा बढी हस्तक्षेप नगरोस् भनेर क्रमशः आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको छ । नेपालका वर्तमान प्रधानमन्त्री के. पी कामरेडसंग मेरो व्यक्तिगत चिनजान भएर अथवा घर एकै ठाउँमा भएर हैन तर चीनसँग मित्रता बढाएको हुनाले र सपना देख्न सिकाएको हुनाले म उहाँको प्रशंसक पनि हुँ यद्यपि म उहाँका वर्तमान गतिविधि हरूसँग सन्तुष्ट छैन ।

नेपाली काँग्रेसको स्थिति दयनीय छ किनभने शेर ब. देउवा अलोकप्रिय छन् र अब उहाँबाट नेपाल र नेपालीको हित हुन्न भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । उनी हिजोआज राष्ट्रलाई भन्दा आफ्नी पत्नी र पुत्रलाई अधिक माया गर्छन् । नेपाल कम्युनिस्ट पार्टी दुई तिहाइको मत पाएर पनि लँगडो छ । यो पार्टीले देश र जनताको हित गर्दैन । किनभने यिनीहरू भारतमा पालिएका हुन र भारतको हितमा काम गर्छन् । भारतले नेपालका नेता हरूलाई नचाउँछ । कहिले प्रचण्डलाई त कहिले के. पी कमरेडलाई र कहिले अन्यहरूलाई नचाएर भारतले नेपाललाई अन्योल र अस्थिरतामा राख्न चाहन्छ ।

यस्तो स्थितिमा अमेरिकाबाट आउन लागेको सहयोग अनुदान रकम नेपालको हितको पक्षमा छ तर प्रशस्त छलफल हुनु ज़रूरी छ । अलिक पाकोस् तर खानु उपयुक्त हुन्छ । भारत र चीनलाई तर्साउन पनि अमेरिकाको सहयोगलाई नेपालको विकास कार्यमा लगाउनु उपयुक्त हुन्छ । केवल राष्ट्रियताको दुहाई दिएर हुन्न । राष्ट्रियता बेचेर खाने तरल तत्त्व हैन ।