अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 15:14

सरकार र पार्टीविरुद्ध प्रचार आक्रमण भइरहेको छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ माघ १५ गते ५:५१ मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफूहरुविरुद्ध तीव्र रुपमा प्रचार आक्रमण भइरहेको बताउनुभएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र पार्टीविरुद्ध प्रचार युद्धभन्दा पनि आक्रमण नै छेडिएको आरोप लगाउनुभयो । ‘युद्ध त दोहोरो हुन्छ, यहाँ त एकोहोरो आक्रमण छेडिएको छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने भन्दै सरकार बनेपछिको दुई वर्षमा सरकारले के के काम गर्यो भन्ने फेहरिस्त सुनाउनुभएको थियो । प्रधानमन्त्री ओलीले सडकबाट मानिसलाई उद्धार गरिएको, कसैलाई भोको मर्न नदिएको लगायतका विषय जानकारी गराउनुभयो ।

भावनामा बगेर क्रान्तिकारी बन्नेतर्फ भन्दा यथार्थवादी बन्न जोड दिंदै उहाँले पार्टीलाई वैचारिक रूपमा प्रष्ट बनाउनुपर्ने र नेता कार्यकर्ता पनि प्रष्ट बन्नुपर्ने बताउनुभयो । पार्टी एकीकरणको २० महिनापछि आज(बुधबार) सुरु भएको दोस्रो केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइने गरेको भन्दै वैचारिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर सरकारका उपलब्धिबाट जवाफ दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आन्तरिक वादविवादमा नअल्झी सरकारले हासिल गरेका उपलब्धीलाई जनतामाझ पुर्याउन नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । ४ सय ४१ सदस्य रहेको केन्द्रीय कमिटी बैठकका लागि पार्टी कार्यालयमा पर्याप्त ठाउँ नभएपछि राष्ट्रियसभा गृहमा बैठक बसिरहेको छ ।

बैठकमा केन्द्रीय समिति र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी भएका छन् । गत वर्ष जेठ ३ गते पार्टी एकीकरणको एक सातापछि जेठ १० गते प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो । आगामी आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुला रुपमा छलफल गर्न पाउने बताइएको छ । यसअघि मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गरेसँगै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू