अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

नीँद

इन्जिनियर राकेश कार्की २०७६ माघ १४ गते १४:१४ मा प्रकाशित

कविता

लागिहाल्यो नीँद
ओछ्यानमा ढल्कने बित्तिकै
आइहाल्यो सपना पनि
खोज्दै खोज्दै मेरो नीँदलाई
दुई परेली भित्र रमाउन ।

मेरो नीँदले
दिनभरिका थकानहरू
मेटिरहे आरामसाथ
सम्पूर्ण पिर चिन्तालाई
बिपनासँगै छाडेर ।

केही चाहिँदैन मेरो नीँदलाई
मेरा दुई आँखा सिवाय
आउँछ हरेक रात्रिमा
समय ढल्दै गएपछि
बन्द गराउँछ दुवै ढकनि
र सुती नै रहन्छ
बिहानै नहुन्जेल सम्म ।

कहिले काहीँ त
जानै मान्दैन यो नीँद
बिहान सबेरै घडीको घण्टीले
टिनिनिनि पारेर ब्युँझाउनु पर्छ
कोही आएर झकझकाउनु पर्छ
व्यस्त यो दुनियाँको समयमा ।

कहिले काम गर्दागर्दै
कहिले यात्रामा
कहिले भाषण सुन्दासुन्दै
कहिले औषधिले लट्ठ पारेको बेला
कहिले ढल्केर पढ्दा पढ्दै
थाहै नदिईकन एक्कासि आइदिन्छ
यो नीँद

अनि यो नीँदले नीँदमै
सुटुक्क लगिदिन्छ
केही थाहा नहुने स्थितिमा
सुषुप्त चेतनामा
साथीभाइ सबै परिवारबाट अन्तै
यो समय यो संसार सबैबाट
कहाँ हो कहाँ पर
यहाँसम्म कि
म आफैलाई
कहिले सपनामा भुलाएर
त कहिले
शून्यमा शिथिल पारेर
निद्राकै निष्क्रियतामा ।।

प्रतिक्रिया