अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:०४ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार आज साँझसम्म कोरोना भाइरसको संक्रमणबाट एक सय ६ जना मृत्यु भएको हो । त्यस्तै आज बिहानसम्म चीनमा मात्रै ४ हजार पाँच सय १५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमणमा एकैदिन ६५ प्रतिशतले वृद्धि भएको छ । हिजो बिहानसम्म २ हजार सात सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ । चीन बाहेकका विभिन्न देशमा ६० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । चीनबाहिर भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

चिन बाहेक अन्य मुलक थाइल्यान्ड र हङकङमा आठ–आठ जना, मकाओ, अस्ट्रेलिया, अमेरिका, ताइवान र सिंगापुरमा ५–५ जना, जापान, मलेसिया, दक्षिण कोरियामा ४–४ जना, फ्रान्समा तीन जना, भियतनाममा दुइजना र नेपाल, क्यानडा, कम्बोडिया, श्रीलंका, जर्मनीमा १–१ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू