अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

सुन्ने र सुनाउने अभियानले आफ्नो २२ औँ भाग सफलता पूर्वक सम्पन्न

बिआरटीनेपाल २०७६ माघ १३ गते १२:०६ मा प्रकाशित

सुन्ने र सुनाउने अभियानले आफ्नो २२ औँ भाग आज सफलता पूर्वक सम्पन्न गरेको छ । नजिकिँदै गएको वसन्त पञ्चमीको अवसर सँगै सरस्वती माताको तस्बिरमा सरस्वती आराधना सहित पूजा पाठबाट सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन सेनु प्रसाद तिवारीले गर्नु भएको थियो।
साहित्य अनुरागीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नयाँ वर्ष, सरस्वती वन्दना र अरू समसामयिक विषयमा केन्द्रित, कविता, गीत, गजलहरूको संयुक्त प्रस्तुति रहेको थियो । सबैको साझा मञ्चको अवधारणा बोकेर कोलोराडोका साहित्यिक र साङ्गीतिक मनलाई जोडने अभिप्राय बोकेको नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको नियमित मासिक कार्यक्रमको यो भागको साक्षीको रूपमा साहित्यकार गङ्गा सागर पन्त रहनु भएको थियो ।

पार्वती बास्तोलाको सरस्वती वन्दनाबाट शुभारम्भ भएको यस कार्यक्रममा पहिलो पटक गङ्गा सागर पन्त, माधव सिवाकोटी, उपेन्द्रराज घिमिरे प्रस्तुति सहित नियमित रूपमा सहभागिता राख्दै आउनु हुने साहित्यकारहरू प्रा .डा .विजयराज शर्मा, धन पौड्याल, लालु प्रसाद चौलागाइ, सरोज भुसाल, भूपेन्द्र महत, सिता सापकोटा, रिता ढकाल, ज्ञानेन्द्र काफ्ले, विजयदेव अधिकारीद्वारा आफ्ना सृजना बाँचन गरिएको थियो । साथै वसन्त लम्साल, रवि बास्तोला र सानो बाल कलाकार तनुज चाैलागाईंको साङ्गीतिक प्रस्तुति गरिएको थियो ।

आजको कार्यक्रमका विशिष्ट पाहुना श्री गंगासागर पन्तले “भाइकी साली” नामक आफ्नो कथा सङ्ग्रहका केही प्रतिहरू नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानलाई उपहार स्वरूप प्रदान गर्नु भएको थियो ।

बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट नियमित रूपमा प्रत्यक्ष प्रसारण हुँदै आइरहेको यस भागमा भरत कुमार श्रेष्ठले तस्बिर उतार्ने काम गर्नु भएको थियो । समान रूपमा नयाँ तथा पुराना सर्जकलाई मञ्च प्रदान गर्दै आइरहेको सुन्ने र सुनाउने अभियान कोलोराडोमा लोकप्रिय हुँदै गइरहेको छ ।

प्रतिक्रिया