अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

१५० वटा क्याम्पसहरुको सम्बन्धन खारेज गर्ने त्रिबिको तयारी

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:३६ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले शैक्षिक कार्यक्रम नवीकरण नगरेका करिब १५० ओटा क्याम्पसहरुको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ । लामो समयदेखि शैक्षिक कार्यक्रम नवीकरण नगरेका क्याम्पसहरुको सम्बन्धन खारेज गर्ने तयारी भएको जनाइएको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत् सम्बन्धनप्राप्त देशभर एक हजार ६२ क्याम्पसहरु रहेका छन् ।

तीमध्ये धेरै क्याम्पसहरुमा कुन विषय पढाइ हुन्छ ? कुन क्याम्पस कहाँबाट सन्चालन भइरहेको छ ? वा क्याम्पस सुचारु छ कि छैन ? भन्नेसम्मको तथ्यांक त्रिविसँगै छैन । २०७३ सालमा त्रिभुवन विश्वविद्यालय सम्बन्धनसम्बन्धी विनियम बनाइएको थियो ।

विनियमले त्रिविअन्तर्गत् रहेका क्याम्पसहरुले दुई र दुई वर्षमा शैक्षिक कार्यक्रम नवीकरण गराउनुपर्ने प्रावधान राखेको छ ।विनियममा नवीकरण नगराएका क्याम्पसहरुको सो तह खारेज हुनेसम्मको प्रावधान राखिएको छ । त्रिविले सम्बन्धनप्राप्त क्याम्पसहरुको नवीकरण गराउन आग्रह गरेको थियो ।

तर, अहिलेसम्म १५० भन्दा बढी क्याम्पसहरु भने नवीकरण गराउने प्रक्रियामा नै सामेल नभएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको योजना निर्देशनालय प्रमुख क्रदिशकुमार पोखरेलले जानकारी दिनुभयो । हाल त्रिविअन्तर्गत् व्यवस्थापन पढाउने ७०० कलेजहरु छन् भने शिक्षा संकायतर्फ ६००, मानविकीमा ३००, विज्ञान प्रविधिसम्बन्धी ९० ओटा, चिकित्सा शिक्षामा १५ ओटा, इन्जिनियरिङमा १०, कृषिमा तीन र कानुनमा दुईओटा क्याम्पस सन्चालनमा छन् ।

तर, योजना निर्देशनालयका कार्यकारी निर्देशक पोखरेलले शैक्षिक कार्यक्रम नवीकरण नगरेका धेरै क्याम्पसहरु रहेकाले अब त्रिविले केही दिनमा नै सूचनासमेत प्रकाशन गर्ने तयारी गरेको बताउनुभयो । क्याम्पस सन्चालन भएरनभएको जानकारी नभएपछि अब सूचना निकाल्न बाध्य भएको उहाको भनाई छ । शैक्षिक कार्यक्रम नवीकरण गर्नका लागि त्रिविले विषयअन्तर्गतको शुल्क लिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू