अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

आजदेखि नेपालमै कोरोना भाइरसको नमूना परीक्षण

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:३१ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले नेपालमै कोरोना भाइरस परीक्षण गर्ने किट ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि एक सय जना बिरामीको परीक्षण गर्न सकिने गरी नोवल कोरोना भाइरस प्राइमर किट नेपालमा ल्याएको हो । विदेशी सप्लार्यसमाफर्त एक सय जनालाई पुग्ने किट आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुगेको मन्त्रालयले जनाएको हो ।

नेपालमा कुनैपनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै परीक्षण हुनेछ । जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरसको लक्षण देखिएका बिरामीको २४ घण्टाभित्रमा कोरोना भाइरस छ वा छैन भनेर पत्ता लगाउन सक्ने मन्त्रालयले जनाएको हो । नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी लगायत स्वास्थ्य निकायले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको परीक्षण किटकको व्यवस्थापनका लागि सहयोग गर्न अपिल गरेको थियो ।

तर विश्व स्वास्थ्य संगठनले तत्काल किट उपलब्ध गराउने संकेत नदेखिएपछि स्वास्थ्य मन्त्रालयले एक सप्लार्यस माफर्त कोरोना भाइरसको परीक्षण किटको व्यवस्थापन गरेको हो । नेपालमा कोरोना भाइरसको संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै पूर्व तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो । कोरोना भाइरसको लक्षण देखिएका व्यक्ति चेकजाचको क्रममा भेटिएमा उनीहरुलाई सिधै अस्पताल लगेर विशेष निगरानीमा राखी कोरोना भाइरसको परीक्षण गरिने उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलन नदिन त्रिभुवन विमानस्थलमा विशेषज्ञ चिकित्सक सहित आठ जना स्वास्थ्यकर्मी परिचालन समेत गरेको छ ।

विमानस्थलमा विदेशबाट आउने पर्यटक तथा स्वदेश फर्किएका नेपालीको थर्मल स्क्यानरबाट ज्वरोको परीक्षण गर्ने व्यवस्था समेत गरीको छ । विमानस्थलमा कोरोना भाइरसको लक्षण देखिएका बिरामी भेटिएमा उनीहरुलाई अन्य मानिसको संक्रमणमा आउन नदिइ सिधै अस्पतालमा परीक्षण तथा उपचारको लागि लगिने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई स्वास्थ्य उपचारको कार्ययोजना सहित तयारी अवस्थामा रहन निर्देशन समेत दिइसकेको छ । कोरोना भाइरसको आशंका गरिएका बिरामीको तत्काललाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल आर्मी अस्पतामा आइसोलेसन वार्ड सहितको उपचारको व्यवस्थापन गरीएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू