अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

काँग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई पक्षबीच झडप

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:२१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताबीच झडप भएको हो । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता कुटाकुटमा उत्रिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि संस्थापन समूहसँग हात हालाहाल भएको थियो ।

पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहनुभएका कुन्दनराज काफ्ले समूहमाथि हातपात र आक्रमण भएको उक्त समूहले दाबी गरेको छ । पूर्व महामन्त्री काफ्ले भाषण गर्दै गर्दा संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको आरोप काफ्ले समूहले लगाएको छ । गमलाले लागेर केही विद्यार्थी समेत घाइते भएका छन् । तर संस्थापन पक्षले भने सामान्य विवाद भएको दाबी गरेको छ ।

लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ । नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो । सभापति शेरबहादुर देउवाले ५० वर्षका राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थी असन्तुष्ट छन् ।

असन्तुष्ट विद्यार्थी नेताले महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला काफ्लेमाथि संस्थापन पक्षले आक्रमण गरेको हो । कांग्रेस केन्द्रीय समितिको बैठक आजबाटै सुरु भएको र नेवि संघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थी विरोध प्रदर्शन र समर्थनका लागि सानेपामा भेला भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू