अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

एउटा लडाइँ जितेँ, अर्को युद्ध बाँकी छ – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:१७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्तवादविरुद्धको एउटा लडाइँ जिते पनि सम्पूर्ण युद्ध भने जित्न बाँकी रहेको बताउनुभएको छ । आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणासभा तथा सपथ ग्रहण समारोहमा उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मुलुकमा सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता नभएसम्म र सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावरण नबनेसम्म समानताको मात्रै कुरा गर्नु भ्रम हुने उहाको भनाई थियो। नेकपाले यो बिषयलाई जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारीसँग जोडेर हेर्न आवश्यक रहेको प्रचण्डले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पूँजीपतिहरु र साम्राज्यवादीहरुले जातीय प्रश्नको कुरा गर्दा जहिले पनि साम्प्रदायिक विद्वेष फैलाउने र जाति जातिबीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको बताउनुभयो । कम्युनिस्टहरुले भन्ने गरेको जातीय हक, अधिकार र मुक्तिको कुरा बुर्जुवाहरु र साम्राज्यवादीहरुले भनेको भन्दा विल्कुल फरक कुरा रहेको उहाको भनाई थियो ।

जातीय हक अधिकार साम्प्रदायिकताको बिषय नभई मुक्ति र समानताको बिषय भएको बताउनुहुँदै जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको तयारी गर्ने बिषय भएको प्रचण्डले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू