अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

मदनकृष्ण र सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक

बिआरटीनेपाल २०७६ माघ १२ गते १०:२० मा प्रकाशित

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक गरिएको छ । गायनमा सरानालाई उनका पिता तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साथ दिएका छन् । गीतकार राजेन्द्र थापा, सङ्गीतकार राजनराज सिवाकोटी रहेको गीतको भिडियोलाई आयोजित कार्यक्रममा देखाइएको थियो । मदन र सरानासँगै हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे, भिडियोका निर्देशक सुव्रतराज आचार्य र कार्यक्रमका होस्ट सन्दीप क्षेत्रीले संयुक्त रूपमा गीतको ‘सिग्नेचर स्टेप’ गरेपछि भिडियो देखाइएको थियो ।

कार्यक्रममा उपस्थितले सरानाको स्वरको तारिफ गरेका थिए । साथै, भिडियोलाई पनि रुचाए । विशेषतः भिडियोमा प्रस्तुत गरिएको कन्सेप्टको चर्चा भयो । भिडियोमा मदन र सरानासँगै केविश पाण्डे, आर्शिना भट्टराईको पनि अभिनय रहेको छ । भिडियोमा राजीव समरको कोरियोग्रफी रहेको छ भने यसलाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ‘मैले मदन दाइ र सरानाको भिडियोलाई निर्देशन गर्ने मौका पाए, यो मेरो लागि अवसरसँगै चुनौती पनि थियो’ सुव्रतले भने ।

मदन कृष्ण श्रेष्ठ: गीत गाउने हिम्मत थिएन । तर, मलाइ सबैले गाउँ भनेर मैले गाए । एक टेकमै गाए । मेरो छोरीको स्वर मलाइ निकै मन पर्छ । स्वर सफा छ, अनि शब्द उच्चारण क्लियर छ । उसले अक्सर घरमा गुनगुनाउने गर्थ्यो । उसको गीत आउँदा निकै खुसी लागेको छ ।

हरिवंश आचार्य: सराना बेकार अमेरिका गइन कि जस्तो लाग्छ । किनकि हाम्रो एउटी राम्री गायिका अनि अभिनय गर्न सक्ने नायिका १७ वर्ष अमेरिकामा बसिन । उनको अभिनय र गायनमा राम्रो सम्भावना छ । मदन दाइको रगतमै सङ्गीत छ त्यसैले सरानाको आवाजमामा आफ्नै मिठास छ । त्यो मिठासले सरानालाई अगाडी लग्नेछ ।

सराना श्रेष्ठ: मैले बुवासँग धेरै पटक गाएकी छु तर अफिसियल रूपमा यो पहिलो रहेछ । राजेन्द्र थापा सरले गर्दा पहिलो पटक गीत गाउने मौका पाए । भिडियोमा आफैले आफूलाई प्रस्तुत गरेको छु । मैले यो गीत ल्याउँदै गर्दा जुन माया र सपोर्ट पाएको छु, त्यसमा कृतज्ञ छु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू