अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

अफ्रिकामा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको भव्य आयोजना

बिआरटीनेपाल २०७६ माघ १२ गते १०:०८ मा प्रकाशित

लुसाका, जाम्बिया । नेपाल दूतावास ,दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा एक भव्य कार्यक्रमका बिच नेपाल भ्रमण वर्ष २०२० को जानकारी मुलुक कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालका पर्यटक स्थलको जानकारी दिने वृत्त चित्र, नेपाली हस्तकलाका सामाग्रीको प्रदर्शन र नेपालको पर्यटन सम्बन्धमा जानकारी दिने मन्तव्य र अन्तरक्रिया गरिएको कार्यक्रमको दक्षिण अफ्रिकाका लागि नेपालका कार्यवाहक राजदूत घनश्याम लम्सालले समुद्घाटन गर्नु भएको थियो । उहाँले नेपाल पर्यटन वर्षको बारेमा जानकारी दिँदै, नेपाल भ्रमण गर्न उपस्थित पाहुनाहरूलाई आग्रह गर्नु भएको थियो ।

त्यसै गरी एनआरएन जाम्बियाका पूर्व अध्यक्ष एवम् सल्लाहकार डा. विशाल उप्रेतीले नेपालका पर्यटन स्थल र आकर्षक स्थलका बारेमा जानकारी दिनु भएको थियो ।एनआरएनए जाम्बियाका अध्यक्ष प्रमोद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा सङ्घका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा , एनआरएनए जाम्बियाका संस्थापक अध्यक्ष र संरक्षक विदुर खनालले अफ्रिका स्थित कूटनैतिक, युएन सेवा, गैरसरकारी संस्था, प्रवासी समुदाय र अफ़्रिकिन मित्रहरू लाई नेपाल भ्रमण गर्न आग्रह गर्नु भएको थियो ।

उक्त अवसरमा नेपाल भ्रमण गरी सक्नु भएका बिदेशमित्रहरुले नेपालको सुन्दरता र आफ्ना भ्रमण अनुभव समेत सुनाउनु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूलाई सन्ध्या खनाल, इन्दिरा उप्रेती, चन्दा शर्मा र कल्पना थापाले उपहार वितरण गर्नु भएको थियो भने कार्यक्रममा जाम्बिया सरकारका प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घीय निकायका प्रतिनिधिहरू, स्थानीय उच्च पदस्थ व्यक्तित्वहरू लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

त्यसै गरी कार्यक्रम परिसरमा राजीव मुनकर्मीले नेपाली हस्तकलाका सामाग्री प्रदर्शनको संयोजन गर्नुका साथै त्यसबारे जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू