अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

‘अस्ट्रेलिया डे’ मा नेपाली कलासंस्कृति प्रस्तुत

बिआरटीनेपाल २०७६ माघ १२ गते ८:१० मा प्रकाशित

अस्ट्रेलियाले राष्ट्रिय दिवसका रुपमा मनाउने ‘अस्ट्रेलिया डे’ परेडमा नेपालीहरुले सहभागिता जनाएका छन् । १ सय बढी देशका नागरिकहरुले उनीहरुका कलासंस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै सहभागिता जनाएको परेडमा नेपाली कलासंस्कृति र बाजाको सान अलग देखिएको थियो ।

सन् १७८८ मा पहिलो डुंगा न्यू साउथ वेल्समा आइपुगेको अवसरमा मनाइने यो दिनलाई अस्ट्रेलियाले बहुसांस्कृतिक संस्कृतिको प्रवर्द्धन र चिनारी दिलाउने उद्देश्यका साथ मनाउने गरेको छ । त्यहाँको सबै राज्यहरुमा आयोजना गरिने यस्ता परेडमा विश्वका विभिन्न कुनाबाट यहाँ आएर बसोबास गरेका नागरिकहरुले आफ्नो परम्परागत भेषभुषा, कला संस्कृतिको पहिचानसहित सहभागिता जनाउने गरेका छन् ।

दक्षिण अस्ट्रेलियामा आयोजित परेडमा सहभागी नेपालीको यसवर्षको मुख्य आकर्षण नै परम्परागत पञ्चेबाजा रहेको थियो । त्यसमा दौरा सुरुवाल, गुन्यू चोली, ढाका टोपी लगाएर बालबच्चा, बाआमा सहित युवाहरुले परेडमा उत्साहका साथ सहभागिता जनाएका थिए । मुख्य सहरमा करिब ३ किलोमिटरसम्म चलेको उक्त सांस्कृतिक पदयात्रामा मन्त्री, सांसदहरुका साथै विभिन्न उच्च व्यक्तिहरुले सहभागिता जनाएका थिए । त्यसमा पनि नेपाली कलासंस्कृतिको विदेशीहरुले चासोका साथ अवलोकन गरेका थिए ।

कार्यक्रमलाई नेपालको भ्रमण वर्षको प्रचारप्रसार गर्ने अवसरको रुपमा समेत नेपालीहरुले उपयोग गरेका थिए । भिजिट नेपाल २०२० को लोगोसहित सहभागी उनीहरुले भेटेजति सबैलाई नेपाल घुम्न आग्रह समेत गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू