अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमवार, सभापति निर्णय सच्याउन तयार भएपछि पौडेल पक्ष बैठकमा सहभागि हुने

बिआरटीनेपाल २०७६ माघ १२ गते ७:३९ मा प्रकाशित

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवाले पार्टीका आन्तरिक विवाद मिलाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएपछि भोलिका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने भएको छ । सभापति देउवा महाधिवेशनको मिति यथावत राखेर अन्य बहुमतका निर्णय सच्याउन तयार भएको पौडेलले बताउनुभयो ।

गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट महाधिवेशनको कार्यतालिका सहितको मिति तय गरेको, महाधिवेशन प्रयोजननार्थ सदस्यतासम्बन्धी व्यवस्था भएका विधानका धारा निलम्बन गरेको, विभागको संख्या बढाउने र तरुण दलको म्याद ६ महिना थप्ने निर्णय गरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको थियो । मंसिर २६ गतेबाट केन्द्रीय कार्यसमिति बैठकसमेत बहिष्कार गरिरहनुभएका पौडेलसहितका नेताले शुक्रबार सभापति देउवा निवासमा ६ घण्टा बैठक गरेका थिए ।

बैठकमा देउवाले महाधिवेशनको मिति यथावत राखेर अन्य विषय सच्याउन आफू तयार रहेको बताएका थिए । र बैठकबाट केन्द्रीय समितिले बहुमतले गरेका निर्णय सच्याएर सर्वसम्मतिमा पारित गर्न सस्थापनबाट महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक तथा पौडेल समूहबाट महामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजाल रहेको कार्यदल बनाइएको थियो । कार्यदलले भोलि बोलाइएको बैठकमा सहमति अनुसारको खाका पेस गर्ने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू