अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

ए डिभिजन लिग– आर्मी रोकिँदा उपाधि होड रोमाञ्चक बन्यो

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:३६ मा प्रकाशित

आर्मी दशरथ रंगशालामा शनिबार एनआरटीसँग गोलरहित रोकिएपनि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ अंकको अग्रतासहित शीर्षस्थानमा कायमै रहेको छ । जित हात पार्न नसकेपछि विभागीय टिमले ३ अंकको अग्रता लिने अवसर गुमाएको हो । यसले उपाधि होड रोमाञ्चक बनेको हो ।

खेल नियन्त्रणमा राखेपनि आर्मीले चाहिएको गोल भने गर्न सकेन। अफ्रिकी मूलका मिडफिल्डर निकेनगुए जुनियरले अन्त्यतिर ७ मिनेटको इन्ज्युरी समयको दोस्रो मिनेटमा युद्ध शाहीलाई ‘फल’ गरेपछि दोस्रो पहेंलो कार्ड बेहोर्दै मैदान छाड्दा एनआरटी दस खेलाडीमा सीमित भयो। त्यसपछि पाएको अवसरलाई पनि उपयोग गर्न नसक्दा आर्मी पूरा ३ अंक जोड्न असफल भयो।

पहिलोपटक आर्मी ए डिभिजन लिग च्याम्पियन बन्ने अभियानमा रहेको छ । उपाधि होडमा बलियो मानिएपनि उसले तीन खेलयता ४ अंकमात्रै जोड्न सकेको छ । आठौं खेलको समाप्तिमा आर्मीले ५ जित, २ बराबरी र १ हारको नतिजासँगै १७ अंक बनाएको छ भने मछिन्द्र र मनाङ मस्र्याङदीले १६–१६ अंक जोडेका छन्।

मछिन्द्रले ५ जित, २ बराबरी र १ हारको नतिजा निकालेको भएपनि गत वर्ष अन्तिमबाट दोस्रोमा रहेपछि १ अंक घटुवामा परेकोले उसको यो लिगमा १६ अंकमात्रै भएको हो। डिफेन्डिङ च्याम्पियन मनाङ आठौं चरणसम्म अपराजित एक्लो टिम हो र उसले ४ जित र ४ बराबरी खेलेको छ। उनीहरूलाई थ्रीस्टार (१४ अंक), एनआरटी (१२), जावलाखेल (१२) र पुलिस (११) ले पछ्याइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू