अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस: स्वास्थ्य मन्त्रालय

बीबीसी २०७६ माघ १० गते ९:५८ मा प्रकाशित

चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण एक नेपालीमा भेटिएको नेपालको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बीबीसीसँग कुरा गर्दै चीनको वुहानबाट हालै फर्किएका एक नेपाली विद्यार्थीमा उक्त सङ्क्रमण देखिएको बताएका छन्। “वुहानबाट फर्किएका उनलाई सामान्य रुघाखोकी ज्वरो आएपछि शंका लागेर अस्पतालमा भर्ना गरियो। उनको रगतको नमूना सङ्कलन गरेर परीक्षणका निम्ति हङकङ् पठाइएको थियो। हिजो बेलुकी त्यहाँबाट उनमा सो सङ्क्रमण पाइएको रिपोर्ट आएको छ,” श्रेष्ठले बताए।

विद्यार्थी निगरानीमा
श्रेष्ठले ती बिरामी अहिले ठीकै हालतमा अस्पतालको निगरानीमा रहेको बताए । यस्ता विषयमा विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार उनलाई निगरानीमा राखिएको बताइएको छ । उनमा देखिएको सङ्क्रमण ‘माइल्ड’ वा सामान्य प्रकारको भएको प्रवक्ताले बताएका छन् । नेपालमा अन्य मानिसमा हालसम्म त्यस्तो शङ्कास्पद सङ्क्रमण नपाइएको पनि उनले बताए।

विमानस्थलमा कडाइ
शुक्रवारदेखि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चेकजाँचमा कडाइ गर्न थालिएको श्रेष्ठले बताए। “चीनबाट आउने सबै बिरामीको हामी ज्वरो लिन्छौँ। त्यसपछि मात्र आउन दिइन्छ,” उनले भने।

चीनमा पछिल्लो स्थिति कस्तो?
चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गर्दा देशका विभिन्न भागमा नियन्त्रणका नियमहरू लगाइएका छन् । थप शहरहरूमा आवतजावतमा बन्देज लगाइएको छ । धेरै चाप परेका अस्पतालमा सैन्य स्वास्थ्य कर्मचारी खटाइएका छन् । बेइजिङमा अधिकारीहरूका अनुसार वुहानबाट आएको बिरामी वा स्वस्थ्य जोसुकैलाई २ हप्ता एक्ल्याएर निगरानी गरिने छ । सार्वजनिक स्थलहरू बन्द गरिएका छन्।

शांघाइ शहरको डिज्नेल्यान्ड तथा बेइजीङ्ग नजिकैको ग्रेटवालका विभिन्न भाग बन्द गरिएका छन् । विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको खतराको स्तर यकीन गर्न तथा त्यसले पार्न सक्ने विश्वव्यापी जोखिमबारे बताउन अहिले अलि चाँडै हुने जनाएको छ। डब्लुएचओका प्रवक्ता तारिक जसारेभिचले सङ्क्रमणका सङ्ख्या बढ्न सक्ने र त्यसको स्पष्ट उपचार उपलब्ध नभइसकेको भन्दै सङ्क्रमणका लक्षणहरूको भने उपचार गर्न सकिने बताए। सो भाइरसले हालसम्म २६ जनाको ज्यान लिइसकेको छ भने ८ सयभन्दा धेरै सङ्क्रमित पाइएका छन्। यसअघि विश्वस्वास्थ्य संगठनले सङ्क्रमणविरुद्ध चीनले देखाएको प्रतिक्रियाको प्रशंसा गरेको छ। बीबीसीबाट

सम्बन्धित सामग्रीहरू