अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिलको बैंक खाता रोक्का गर्ने

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:२१ मा प्रकाशित

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ। मन्त्रालयले गत पुष १८ गते उखु किसानहरुसँग गरेको सम्झौता अनुसार उद्योगहरुबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योगहरु अझै सम्पर्कमा नआएकोले आर्थिक कारोबार रोक्का गर्न लागिएको जानकारी दिएको हो।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण सुगर एण्ड जनरल ई प्रालि, इन्दीरा सुगर एण्ड एग्रो ई प्रालि, बाबा बैजुनाथ चिनी उद्योग, लुम्बिनी चिनी उद्योग, श्रीराम सुगर मिल्स लगायतका उद्योगको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँले सम्पर्कमा नरहेका उद्योगहरुको बैंक खाता समेत रोक्का हुने बताउनुभयो । ती उद्योगहरुलाई सम्पर्कमा ल्याइदिन मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई पत्राचार गरेको समेत भट्टराईृको भनाई छ । प्रवक्ता भट्टराईका अनुसार बाबा बैजुनाथ चिनी उद्योग, वाग्मती खाँडसारी चिनी मिल्स, महाकाली सुगर, लुम्बिनी चिनी उद्योगका सञ्चालकहरु सम्पर्कमा आएका छैनन्। अन्नपूर्ण सुगर मिल र इन्दीरा सुगर मिलका सञ्चालक राकेशकुमार अग्रवाल सम्पर्कमा रहेपनि ४२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्नुपर्नेमा जम्मा ४ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेकाले आर्थिक कारोबार रोक्का गरी अनुसन्धान गर्न लागिएको जानकारी प्रवक्ता भट्टराईले दिनुभयो ।

त्यस्तै श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपनि किसानसँग जग्गा विक्री गरेर भुक्तानी गर्ने सम्झौता गरेको जानकारी गराएकाले अनुसन्धान गर्न लागिएको उहाको भनाई छ । लुम्बिनी चिनी उद्योगका सञ्चालक मनिष अग्रावलको मृत्यु भएकाले उक्त उद्योग कसले सञ्चालन गर्छ भन्ने जानकारी हुन नआएको उहाँले बताउनुभयो । मन्त्रालयले गत पुष १८ गते उखु किसानसँग चिनी मिल सञ्चालकहरुबाट माघ ७ गते भित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू