अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 08:25

बिहीवार राष्ट्रियसभा निर्वाचन, तयारी पूरा

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:०४ मा प्रकाशित

निर्वाचन आयोगले बिहीबार (भोलि) हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्ला सदरमुकाममा तोकिएको मतदानस्थलमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री पुगिसकेको जानकारी समेत दिनुभएको छ । आयोगले बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदान सकिएपछि बिहीबार नै नतिजा प्रकाशन गर्नेगरी व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले निर्धारण गरेबमोजिमको परिचयपत्र लिइ मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई अनुरोध गरेको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यले राष्ट्रियसभा सदस्य चुन्नेछन् । निर्वाचन हरेक प्रदेशमा हुने र सोहीअनुसार प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ ।

५९ सदस्यीय राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिँदैछ । तीमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन् । एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रियसभाका एकतिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू