अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

साना उद्योगका निर्यात योग्य वस्तुहरूको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

बिआरटीनेपाल २०७६ माघ ७ गते १०:५२ मा प्रकाशित

काठमाडौँ । स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरूका उत्पादनहरूको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रूपमा मङ्गलवार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरूका लागि ट्रेडमार्क तथा बौद्धिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरूले यस्तो बताएका हुन् ।

महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार सङ्गठनको सदस्यता लिएपश्चात् विश्व व्यापार सङ्गठनका सदस्य अन्य मुलुकहरूमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफ्ना उत्पादनहरू अन्य सदस्य मुलुकहरूमा निर्यात गर्दै आएको बताउँदै भन्नुभयो – ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरू अन्य मुलुकहरूमा समेत उत्पादन हुने गर्दछन् । यसरी उत्पादित वस्तुहरू मूल रूपमा नेपालबाट उत्पादन सुरु भए पनि अन्य मुलुकहरूले यस्ता वस्तुहरूको प्रतिलिपि उतार गरी उत्पादन गर्दिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरू समेतमा नेपालको हक कायम नभइदिँदा भविष्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्न सक्ने र हाम्रा उत्पादनहरुलेउल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’

नेपालमै उद्गम भएका कतिपय निर्यात योग्य वस्तुहरूमा हाम्रो स्वामित्व कायम गर्नु अपरिहार्य भएकोमा जोडदिंदै उहाँले भन्नुभयो – ‘हालसम्म पेटेन्ट अधिकारको बारेमा नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई वौद्घिक सम्पत्तिको संरक्षणका बारेमा जानकारी समेत छैन, उनीहरूलाई ट्रेडमार्क र ब्रान्ड सम्बन्धी चेतना जगाउनुपर्छ ।’

उद्योग विभागका महा निर्देशक जीवनप्रकाश सिटौलाले बौदिक सम्पत्ति भनेको अत्यन्तै महत्त्वपूर्ण कुरा भएकोमा जोड दिँदै भन्नुभयो – ‘उद्योगको कुरा गर्दा कुल जिडिपीको छ प्रतिशत उद्योगको योगदान छ त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको छ । साना व्यवसायीले उत्पादन गर्छन्, दुःख गर्छन्, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरूकै ट्रेडमार्क सुरक्षित हुँदैन ।’

ट्रेडमार्क भनेको उद्योगी व्यवसायीको आफ्नो सम्पत्ति भएको भन्दै यसको बेलैमा संरक्षण गर्न जरुरी भएको बताउँदै उहाँले भन्नुभयो – ‘औद्योगिक सामानहरू उत्पादन हुन्छन् तर तिनको पेटेन्ट दर्ता अत्यन्तै कम हुनुको पछाडि सचेतनाको अभाव र समयको अभावले हुन सक्छ । तर यो विषयमा व्यवसायी बेलैमा सचेत हुन जरुरी छ ।’

कार्यक्रममा उद्योग विभागका कानुन उप सचिव टङ्क बहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्त्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा वौद्घिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारीताका साथै वस्तु डिजाइन तथा वौद्घिक सम्पत्तिका अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र वौद्घिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुति गर्नुभएको थियो ।

एक दिने कार्यशाला गोष्ठीमा लघु, घरेलु तथा साना उद्योगहरूका उत्पादनमा लागेका करिब एक सयजना व्यवसायीहरूको सहभागिता रहेको कार्यक्रमका सहजकर्ता रूपक सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू